कोरोना सङ्क्रमणबाट नेपाली कांग्रेस ओखलढुङ्गाका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । कोभिड– १९ बाट संक्रमित भई काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षका उमेरमा निधन भएको हो ।
एक दशकअघि जिल्लामा काँग्रेसको नेतृत्व गर्नुभएका कार्कीले २०१८ सालमा काँग्रेसमा आबद्ध भई राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले प्रतिबन्धित कालमा पटक पटक कारागार जीवन बिताउनाका साथै प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
यसैबिच कार्कीको निधनप्रति ओखलढुङ्गा काँग्रेसले शोक व्यक्त गरेको छ । पार्टी सभापति प्रदीपकुमार सुनुवारद्वारा जारी गरिएको वक्तव्यमा ओखलढुङ्गाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्धा गुमाएको बताइएको छ ।
कार्कीको निधनले ओखलढुङ्गा काँग्रेसमा अपूरणीय क्षति भएको जनाउँदै सात दिनसम्म पार्टीको आधा झन्डा झुकाउने र पाँच दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।रासस