काठमाडौं- विश्व लगायत नेपालमा पनि तिब्रगतिमा बढिरहेको कोरोना भाइरसका संक्रमित एक महिनामा मात्र डेढ लाखभन्दा बढी थपिएका छन् ।
नेपालमा एक महिनाको अवधिमा अर्थात वैशाखभरि मात्र एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन् । त्यो भन्दा अगाडि कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो । सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने आज सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाले पिसिआर परीक्षण गराएका छन् ।
वैशाख महिनामा कोरोना मुक्त हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । त्यस्तै नेपालमा हाल संक्रिय संक्रमितको संख्या एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर एक हजार ७०५ सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ । एक हजार ३३४ सङ्क्रमितको आइसियुमा तथा ३७१ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा ५४२ सङ्क्रमित आइसियुमा तथा २२० सङ्क्रमित भेन्टिलेटरमा छन् । काठमाडौँ उपत्यकामा मात्रै १८५ सङ्क्रमितको आइसियुमा तथा १०५ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ ।