काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालस्थित आईभीएफ केन्द्रमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनाले नाबालिगको प्रजनन स्वास्थ्य, सहमति र उपचार प्रक्रियाको सुरक्षाबारे प्रश्न उठाएको छ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। नूतन शर्मासँग बयान लिएको छ। जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएकी शर्माले आफूले कानुनविपरीत काम नगरेको दाबी गरेकी छन्। बयानपछि उनलाई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार किशोरीलाई डिम्ब निकाल्दा पैसा पाइने भन्दै प्रलोभनमा पारिएको आरोप छ। त्यसपछि उनलाई बिचौलियामार्फत बीएण्डबी अस्पतालको आईभीएफ केन्द्रमा लगिएको बताइएको छ। डिम्ब निकालिएपछि स्वास्थ्यमा समस्या देखिएपछि परिवारले घटनाबारे जानकारी पाएको थियो।
घटनामा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा राधिका गोतामेसँग पनि प्रहरीले अनुसन्धान गरेको छ। अनुसन्धानका क्रममा गोतामेको मोबाइलबाट डा। शर्मा र उनीबीच भएको आर्थिक कारोबारको विवरण भेटिएको प्रहरी स्रोतले जनाएको छ। पीडित पक्षले भने किशोरीको डिम्ब निकाल्ने प्रक्रिया, त्यसमा संलग्न व्यक्ति र बिचौलियाको भूमिकाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरेको छ।
नाबालिगको शरीरबाट डिम्ब निकाल्ने जस्तो संवेदनशील चिकित्सकीय प्रक्रिया अघि बढाउँदा उमेर, परिचय, अभिभावकीय सहमति र कानुनी प्रक्रिया कसरी सुनिश्चित गरियोरु भन्ने प्रश्न अहिले मुख्य बनेको छ।
विशेषगरी किशोरीलाई आर्थिक प्रलोभनमा पारिएको आरोपसमेत रहेकाले उनको स्वतन्त्र र सूचित सहमति थियो कि थिएन भन्ने विषय पनि अनुसन्धानको महत्वपूर्ण पाटो बनेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको भूमिका र आर्थिक कारोबारबारे अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानबाट वास्तविकता बाहिरिएपछि मात्रै घटनाको कानुनी तथा चिकित्सकीय जिम्मेवारी स्पष्ट हुने देखिन्छ।
यो केवल एउटा आईभीएफ केन्द्रमा भएको घटनामात्र नभई किशोरीको प्रजनन स्वास्थ्य र शरीरसम्बन्धी निर्णयमा उनको अधिकार तथा सुरक्षा कति सुनिश्चित छ भन्ने गम्भीर प्रश्न पनि हो।