धेरैजसो बालबालिका मोबाइल, ट्याब जस्ता ग्याजेटमा समय बिताउँछन् । शारीरिक गतिविधिमा संलग्न हुँदैनन् । जसले गर्दा पनि उनीहरूको तौल अनियन्त्रित रूपमा बढ्दै जाने हुन्छ । पहिले बालबालिकामा ख्याउटे कुपोषण बढी देखिन्थ्यो भने अहिले मोटोपनका कारण लिभरसम्बन्धी समस्या, उच्च रक्तचाप (प्रेसर) र श्वासप्रश्वासका समस्या बढ्दै गएका छन्।
२ वर्षसम्मका बालबालिकामा मोटोपन छुट्याउन कठिन हुन्छ। त्यसपछि भने उमेर र लिङ्गअनुसार बीएमआई BMI (Body Mass Index) को आधारमा मूल्याङ्कन गरिन्छ। यदि बीएमआई ९०% भन्दा तल छ भने आत्तिनु पर्दैन् त्योभन्दा माथि ९०/९५ बढी तौल (Overweight) भनिन्छ भने ९५ भन्दा माथि मोटोपन (Obesity) भनेर छुट्याइन्छ ।
मोटोपन हुनुका मुख्य कारण
प्रमुख कारण खराब जीवनशैली र अस्वस्थ खानपान हो। वंशाणुगत वा हर्मोनको गडबडीका कारण, अत्यधिक गुलियो पेय पदार्थको सेवन, फास्ट फूडको लत, र शारीरिक गतिविधिको कमीका कारण बालबालिकाको तौल अनियन्त्रित रूपमा बढ्ने गरेको पाइन्छ। हाम्रो शरीरमा कार्बोहाइड्रेड, प्रोटिन फ्याट, भिटामिन सबै प्रकारको प्रोटिन तत्व आवश्यक हुन्छ । यदि शरीरमा आवश्यक पर्ने उक्त तत्वको सन्तुलन बिग्रिएको खण्डमा बालबालिकामा मोटोपनको समस्या निम्तिन्छ ।
1.शारीरिक गतिविधि कम हुनु
बाहिर खेल्ने, दौडने–उफ्रने बानी नहुँदा मोटोपन बढ्छ।
2. अस्वस्थ खानपान
जङ्क फुड र प्याकेजिङ खाना धेरै खानु मोटोपनको मुख्य कारण हो।
3. वंशाणुगत प्रभाव
आमाबाबु मोटो भए बालबालिकामा पनि मोटोपनको जोखिम बढी हुन्छ।
4. जिद्दी स्वभाव, स्क्रिन टाइम र इनडोर गेम
टिभी, मोबाइल तथा इनडोर गेममा धेरै समय सीमित हुँदा शारीरिक गतिविधि घट्छ। क्यालोरी बढी लिने तर फिजिकल एक्टिभिटी नहुँदा मोटोपन तीव्र रूपमा बढ्ने गर्छ।
5. तनाव र मानसिक समस्या
तनाव, आत्मविश्वासको कमी र डिप्रेसनले पनि मोटोपन बढाउन सक्छ।
घरमा पकाइएको स्वस्थकर खाना छाडेर बच्चाहरू जंक फूड, प्याकेज गरिएका पदार्थ र सडकका खाना खान रुचाउने प्रवृत्तिले उनीहरूलाई गम्भीर स्वास्थ्य समस्यामा पारिरहेको छ।
बालबालिकामा अत्याधिक मोटोपनले निम्त्याउने समस्याहरु
बालबालिकामा अत्याधिक मोटोपनले स्वास्थ्यमा गहिरो असर पार्छ। अत्याधिक मोटोपनले शारीरिक, मानसिक र सामाजिक सबै क्षेत्रमा समस्या निम्त्याउन सक्छ। यसले सासप्रश्वासमा समस्या ल्याउँछ, जसले गर्दा राति राम्रोसँग निन्द्रा नपुगी दिनभरि स्कूलमा ध्यान दिन नसक्ने, कक्षा र एक्टिभिटीमा सहभागिता कम हुने जस्ता समस्या उत्पन्न हुन्छ। मोटोपनका कारण फोक्सो, ढाड, घुँडा, खुट्टा र जोइन्टमा दुखाइ बढ्छ, मुटुरोग, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि र मधुमेहको जोखिम पनि बढाउँछ। कलेजोमा बोसो जम्ने (फ्याटी लिभर) समस्या, मानसिक तनाव, डिप्रेसन र आत्मविश्वास घट्ने जस्ता असर पनि देखिन्छ। त्यस्तै, कब्जियत र छालासम्बन्धी समस्या अन्य बच्चाभन्दा बढी देखिन्छ। यसैले समयमै स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र पर्याप्त निद्रा सुनिश्चित गर्नु अत्यन्त जरुरी हुन्छ।