काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई इलामबाट काठमाडौं ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
चिकित्सा शिक्षा सुधारका माग राख्दै इलामको नारायण मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल भर्ना गरिएको थियो। श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई अक्सिजन दिएर उपचार गरिएको थियो। स्वास्थ्य अवस्था थप बिग्रिएपछि विशेष उपचारका लागि काठमाडौं ल्याइएको हो।
टाइप टु मधुमेहका बिरामी केसीको परीक्षणमा रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ।
केसीले गेटामा पूर्वाधारबिना चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनको अनुमति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग तथा विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वमाथि छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन्।
उनका सहयोगी पवन थापाले सरकारलाई तत्काल वार्ता गरी माग सम्बोधन गर्न आग्रह गरेका छन्।