काठमाडौँ । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्न चिकित्सा सेवा पर्यटन प्रवर्द्धन गर्ने भएको छ। यसका लागि कार्यदल गठन गरी आवश्यक काम अघि बढाउने निर्णय गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटन व्यवस्थित बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिव तथा निजी अस्पतालका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा विदेशी बिरामीका लागि गुणस्तरीय र सुलभ उपचार सेवा, अस्पतालको गुणस्तर तथा बिरामी सुरक्षाको मापदण्ड र मेडिकल भिसाको व्यवस्था गर्नेलगायत विषयमा छलफल भएको थियो।
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनले विदेशी मुद्रा आर्जन बढाउनुका साथै नेपाली नागरिकलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउन र देशभित्रै विशेषज्ञ स्वास्थ्य सेवा सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।