कास्की । जाडो सुरु भएसँगै गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण घट्दै गएको छ। जनवरीदेखि अक्टोबर २५ सम्म प्रदेशमा तीन हजार ५७६ जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ।
अगस्टमा एक हजार २७४ र सेप्टेम्बरमा एक हजार १९१ जनामा सङ्क्रमण देखिएको थियो। अक्टोबर १९ देखि २५ सम्म भने ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ।
मनाङबाहेक सबै जिल्लामा फैलिएको डेंगुबाट सबैभन्दा बढी बागलुङ प्रभावित भएको छ। सङ्क्रमण घटे पनि कात्तिक अन्तिमसम्म जोखिम कायम रहने भएकाले सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ। डेंगुबाट बच्न घर तथा वरपर पानी जम्न नदिने, पुराना टायर र भाँडाकुँडामा जम्मा भएको पानी हटाउने तथा लामखुट्टेको बासस्थान नष्ट गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।