काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी तथा एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने अनुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि भारी वर्षा र हिमपात हुन सक्छ।
वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य प्रभावित हुन सक्ने भएकाले महाशाखाले आज र भोलि कृषि कार्य नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यहाँ पुगिसकेकालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
सम्भावित वर्षाले पहिरो, सडक तथा हवाई यातायातमा अवरोध र चिसो बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।