सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालदेखि स्वास्थ्यचौकीसम्मका सेवा निःशुल्क गरेको छ।
गाउँपालिकामा सञ्चालित १५ शय्याको हेलम्बु प्राथमिक अस्पताल, पाँच स्वास्थ्यचौकी, दुई आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुई सामुदायिक स्वास्थ्य एकाइमार्फत नागरिकले निःशुल्क सेवा पाइरहेका छन्।
गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार दुई महिनाअघि सञ्चालनमा आएको अस्पतालमा चिकित्सक, आधुनिक प्रयोगशाला, बहिरङ्ग सेवा तथा २४ सै घण्टा अत्यावश्यक उपचार सेवा उपलब्ध छ। तिलगङ्गा आँखा अस्पतालको सहयोगमा आँखाको उपचार र नागरिक आरोग्य केन्द्रमार्फत आयुर्वेदिक सेवा पनि निःशुल्क प्रदान गरिँदै आएको छ।
गाउँपालिकाले सुत्केरी आमालाई पोषण खर्चबापत थप तीन हजार ८०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ। सङ्घीय सरकारबाट प्राप्त तीन हजार रुपैयाँसमेत गरी सुत्केरीले कुल छ हजार ८०० रुपैयाँ पाउँछन्।
त्यस्तै, बालबालिकाका लागि विशेष स्वास्थ्य प्याकेज, दीर्घरोगीलाई निःशुल्क उपचार तथा औषधि र थप उपचारका लागि अन्यत्र जानुपर्ने बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।