काठमाडौँ । बाराको फेटा गाउँपालिका–३ मा स्वास्थ्य केन्द्र उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका १५ वर्षीय आदित्य पासवानको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।
गम्भीर घाइते पासवानलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि आइतबार काठमाडौं ल्याइएको हो। त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार उनलाई सघन उपचार कक्ष ९आईसीयू० मा राखिएको छ। अस्पतालका अनुसार उनको अवस्था स्थिर छ।
गोली लागेर तिघ्रामा गम्भीर चोट लागेका पासवानको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा शल्यक्रिया गरी गोली निकालिएको थियो। थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि उनलाई काठमाडौं ल्याइएको हो।
सङ्घीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका क्रममा शिलालेख तोडफोडको विषयलाई लिएर स्थानीयबीच विवाद चर्किएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा पासवान घाइते भएका थिए।