काठमाडौं । आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने उद्देश्यले सञ्चारकर्मीलाई जिम्मेवार मिडिया रिपोर्टिङसम्बन्धी अभिमुखीकरण दिइएको छ। नेपालमा आत्महत्याको समस्या गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा करिब ७ हजारभन्दा बढी मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्।
यसै सम्बन्धी रोकथाम तथा जनचेतना अभिवृद्धिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा सोमबार ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम’ आयोजना गरेको थियो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले मानसिक स्वास्थ्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए। आत्महत्याका घटना न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्नुका साथै जोखिममा रहेका व्यक्तिको समयमै पहिचान र आवश्यक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने उनको भनाइ थियो। यसका लागि सञ्चारमाध्यमले पनि तथ्यपरक र संवेदनशील सूचना सम्प्रेषण गर्नुपर्ने उनले बताए।
केन्द्रकी निर्देशक डा. राधिका थपलियाले अभिमुखीकरणपछि सञ्चारकर्मीले आत्महत्यासम्बन्धी सूचना तथा समाचार सम्प्रेषण गर्दा थप जिम्मेवार भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताइन्। यसबाट आत्महत्या रोकथामका प्रयासलाई सहयोग पुग्नुका साथै मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि हुने विश्वास गरिएको छ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार तयार पार्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरे। यस्ता समाचारमा प्रयोग गरिने भाषा, शीर्षक, तस्बिर र प्रस्तुतिले पाठक तथा दर्शकमा पार्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो। घटनालाई अतिरञ्जित वा सनसनीपूर्ण बनाउनेभन्दा जिम्मेवार र मर्यादित ढङ्गले समाचार प्रस्तुत गर्न उनले जोड दिए।
त्यस्तै, मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले आत्महत्यासम्बन्धी व्यवहारका जोखिमका संकेत, पहिचान र रोकथामका उपायबारे जानकारी गराए। आत्महत्याको सोच तथा जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग र परामर्श उपलब्ध गराउन सके रोकथामका प्रयास प्रभावकारी बनाउन सकिने उनले बताए।
डा. अधिकारीका अनुसार दैनिक औसत २० जनाले आत्महत्या गर्ने गरेका छन्। उनको प्रस्तुत विवरणमा आर्थिक वर्ष २०८२/८३ मा नेपालमा ७ हजार १३२ जनाको आत्महत्याका कारण मृत्यु भएको उल्लेख छ। जनसङ्ख्याका आधारमा हेर्दा प्रति एक लाख जनसङ्ख्यामा करिब २४ जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। आत्महत्याको समस्या महिला तथा किशोरकिशोरीमा समेत गम्भीर रूपमा देखिएको छ। सन् २००५ को तथ्याङ्कअनुसार नेपालमा १५ देखि ४५ वर्ष उमेर समूहका महिलाको मृत्युको प्रमुख कारणमध्ये आत्महत्या एक रहेको थियो।
त्यस्तै, सन् २०२० को मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा ६.५ प्रतिशत वयस्क र ३.९ प्रतिशत किशोरकिशोरीमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको थियो। उनले विश्वव्यापी रूपमा पनि आत्महत्या गम्भीर समस्याका रूपमा रहेको बताए।
डा. अधिकारीले सञ्चारमाध्यमले आत्महत्याका घटनाको विस्तृत विवरण, प्रयोग गरिएको विधि तथा घटनालाई दोहोर्याएर सनसनीपूर्ण रूपमा प्रस्तुत गर्नुभन्दा त्यसबाट बच्ने उपाय, उपलब्ध स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगका माध्यमलाई प्राथमिकता दिनुपर्ने बताए। साथै, कठिन परिस्थितिबाट बाहिर निस्किएका व्यक्तिका सकारात्मक अनुभव र संघर्षका कथालाई समाचारमा स्थान दिनुपर्ने उनको सुझाव थियो।
अभिमुखीकरणका क्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी शाखा प्रमुख शीला श्रेष्ठले आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीका लागि मार्गदर्शन, २०८० का मुख्य प्रावधानबारे जानकारी गराइन्। उनले आत्महत्यासम्बन्धी समाचारमा रोकथामका उपाय, मनोसामाजिक परामर्श सेवा र सहयोग लिन सकिने माध्यमबारे समेत जानकारी समेट्नुपर्ने बताइन्। मानसिक स्वास्थ्यसम्बन्धी सहयोगका लागि राष्ट्रिय हेल्पलाइन नम्बर सम्पर्क गर्न उपयोगी हुने उनको भनाइ थियो।
कार्यक्रममा आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा घटनास्थल, प्रयोग गरिएको विधि, प्राविधिक विवरण, सुसाइड नोट तथा संवेदनशील तस्बिर र भिडियो सार्वजनिक गर्दा पर्न सक्ने नकारात्मक प्रभावबारे पनि छलफल गरिएको थियो।
आत्महत्या केवल व्यक्तिगत समस्या नभई मानसिक स्वास्थ्य र जनस्वास्थ्यसँग जोडिएको गम्भीर विषय हो। मानसिक तनाव, निराशा, सामाजिक दबाब तथा विभिन्न मनोसामाजिक समस्याले व्यक्तिलाई जोखिममा पार्न सक्छन् । समयमै मानसिक स्वास्थ्य समस्या पहिचान गर्ने, परिवार तथा समाजबाट सहयोग गर्ने, मनोसामाजिक परामर्श र आवश्यक उपचारको पहुँच विस्तार गर्ने हो भने आत्महत्याका घटनाहरू न्यूनीकरण गर्न सकिन्छ। आत्महत्यासम्बन्धी सोच वा जोखिम देखिएका व्यक्तिलाई दोषारोपण गर्नुको सट्टा सहानुभूति, सहयोग र उचित उपचार उपलब्ध गराउनु आवश्यक छ।
आत्महत्यालाई कुनै एउटा घटना वा समस्याको परिणामका रूपमा मात्र व्याख्या नगरी मानसिक स्वास्थ्य, सामाजिक अवस्था र व्यक्तिले भोगिरहेका विभिन्न परिस्थितिसँग जोडेर संवेदनशील ढङ्गले प्रस्तुत गर्नुपर्नेमा सहभागीलाई सचेत गराइएको थियो।
नोट : मानसिक तनाव, निराशा, सामाजिक दबाब वा अन्य मनोसामाजिक समस्या भोगिरहेका व्यक्तिलाई मानसिक स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परे निःशुल्क राष्ट्रिय हेल्पलाइन नम्बर ११६६ मा फोन गरी परामर्श तथा सहयोग लिन आग्रह ।