काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
भिटामिन ‘ए’ ले बालबालिकाको आँखाको स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमता तथा शारीरिक विकासमा सहयोग गर्छ। जुकाको औषधिले पेटमा पर्ने जुका नियन्त्रण गर्न र जुकाको सङ्क्रमणबाट हुन सक्ने स्वास्थ्य समस्याको जोखिम कम गर्न मद्दत गर्छ।
नेपालमा भिटामिन ‘ए’ कार्यक्रम वि।सं। २०५० मा सुरु भई २०५९ देखि देशभर विस्तार गरिएको हो। त्यसैगरी जुकाको औषधि खुवाउने अभियान २०५६ मा सुरु भई २०६७ देखि सबै जिल्लामा लागू गरिएको हो। सरकारले हरेक वर्ष कात्तिक र वैशाखमा यो अभियान सञ्चालन गर्दै आएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेका स्वास्थ्य संस्थाहरू तथा अभियानका लागि तोकिएका केन्द्रमा लगेर अभिभावकले आफ्ना बालबालिकालाई औषधि खुवाउन सक्नेछन्।