नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार (क्रिटिकल केयर) र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ।
अस्पतालले मंगलबारदेखि सञ्चालनमा ल्याएको उक्त सेवा प्रत्येक हप्ताको मंगलबार र बिहीबार ओपीडी कक्ष नम्बर ७ (ए) बाट उपलब्ध हुने जनाएको छ।
नयाँ सेवामार्फत फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या, गम्भीर अवस्थाका बिरामीको सघन उपचार र निद्रासम्बन्धी समस्याको परीक्षण तथा उपचार हुनेछ। यसबाट विशेषज्ञ उपचारका लागि अन्यत्र जानुपर्ने बिरामीको बाध्यता कम हुने अपेक्षा गरिएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले विशेषज्ञ सेवाको दायरा विस्तार गर्दै सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास भइरहेको बताए।