बाल क्यान्सर भन्नेबितिकै बालबालिकामा हुने क्यान्सर भन्ने बुझिन्छ । जन्मेदेखी १८ वर्षमा हुने क्यान्सरलाई बाल क्यान्सर भनेर बुझिन्छ । जन्मेदेखी १८ वर्ष नहुँदासम्मका बालबालिकाको क्यान्सर उपचार हामी गर्ने गर्छौ ।
बालबालिकामा हुने क्यान्सर वयस्क मानिसहरुमा हुने क्यान्सर भन्दा भिन्न छन् । बालबालिमा हुने क्यान्सरमध्ये ल्युकेमिया एक प्रकारको क्यान्सर हो, जुन अधिंकाश बालबालिकामा हुने गर्छ । १० जना बाल क्यान्सरका बिरामीहरुमध्ये ८ जनालाई ल्युकेमिया अर्थात् रक्तक्यान्सर हुने गर्छ ।
रक्त क्यान्सर बाहेक बालबालिकामा ब्रेन ट्युमर,लिफोमा ,सार्कोमा,मृगौला, आँखाको क्यान्सर लगायतका क्यान्सरहरु हुने गर्छन् । बालबालिकामा हुने क्यान्सर वयस्कमा हुने क्यान्सर भन्दा भिन्न भएकोले यसको कारक तत्वमा समेत भिन्नता पाउन सकिन्छ । बाल क्यान्सर खानपान तथा जीवनशैलीका कारण हुँदैंन । बाल क्यान्सरको कारण अझै पनि पहिचान हुन सकेको छैन । यो अझै पनि अनुसन्धानको विषय बनेको छ ।
कस्ता बच्चाहरुमा क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ ?
२५ प्रतिशत बालबालिकाहरुलाई वंशाणुगत कारणले क्यान्सर रोग लाग्ने गर्छ । डाउन् सिन्ड्रोम भएका बालबालिकाहरुमा क्यान्सर लाग्न सक्ने सम्भावना केही बढी हुन्छ । यस्ता बच्चाहरुमा रक्त क्यान्सर बढी मात्रामा हुने गरेको पाइएको छ । डाउन सिन्ड्रोमका बालबालिकामा रक्त क्यान्सर भएमा निको हुने दर राम्रो छ ।
गर्भवती आमालाई विकिरणको प्रभावका कारण बालबालिकामा क्यान्सर हुने सम्भावना हुन्छ । धुम्रपान तथा मद्यपान गर्ने आमाहरुका कारण पनि बालबालिकामा क्यान्सर हुन सक्छ । बालबालिकालाई फास्ट फुड अर्थात् जंग फुड धेरे खुवाउनाले त्यसको नकारात्मक असर उनीहरुलाई पर्न गई लामो समयपछि बच्चाहरुमा क्यान्सर हुने गर्छ । त्यस्तै विषादीको मात्रा मिसिएको फलफूल तथा तरकारीहरुको सेवनले पनि कालान्तरमा बालबालिकामा क्यान्सर हुन सक्छ ।
बाल क्यान्सर निको हुने दर कस्तो छ ?
वयस्कहरुमा हुने क्यान्सरभन्दा बालक्यान्सर निको हुने दर एकदमै राम्रो रहेको छ । बाल क्यान्सरको उपचारपश्चात् बालबालिकाहरु पूर्ण रुपमा निको हुन सक्छ । त्यसैले हामीले बालक्यान्सर सम्बन्धी विशेष दिनहरुमा जनचेतना दिने हिसाबले बाल क्यान्सर सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्ने गर्छौ । त्यसैले बाल क्यान्सर दिवसका दिन हामीले क्यान्सर रोग लागेर निको भइसकेका बालबालबालिकाहरुलाई जम्मा गरेर विभिन्न प्रकारका जचेतनामुलक कार्यक्रमहरु गर्ने गरेका छौं ।
क्यान्सर उपचारमा आएका बालबालिकाले किन पूर्ण उपचार गराउँदैंनन् ?
बाल क्यान्सरको उपचारका लागि काठमाडौं भन्दा बाहिरबाट आएका कतिपय बालबालिकाहरु पूर्ण उपचार नगरी घर फर्कन बाध्य हुन्छन् ।
काठमाडौंमा बस्ने तथा खाने ठाउँ नभएका कारण सरकारी अस्पतालमा निजी भन्दा सस्तो पाइने उपचार समेत उनीहरुको पहुँचमा हुँदैंन । क्यान्सर उपचारका लागि लामो समय लाग्ने भएका कारण काठमाडौं बाहिरका आर्थिक अवस्था कमजोर भएका बिरामीहरुका लागि उपचार सम्भव हुँदैंन । उनीहरुका लागि बस्ने संस्थाहरु मिलाउने तथा सस्तो औषधिको व्यवस्था गर्न सकेको खण्डमा यस्ता बिरामीहरुका लागि उपचार प्रक्रिया केही सहज हुन्थ्र्यो ।