काठमाडौं । नेपालमै विकसित र उत्पादित कार–टी सेल प्रयोग गरेर पहिलोपटक क्यान्सरका बिरामीको उपचार गरिएको छ। सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सहकार्यमा रक्त क्यान्सरबाट पीडित एक बिरामीलाई यो आधुनिक उपचार पद्धति प्रयोग गरिएको हो।
-compressed (1).webp)
सीआरएम नेपालका अनुसार काठमाडौंस्थित शिक्षण अस्पतालमा असोज ११ गते चिकित्सकको टोलीले एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भएका बिरामीलाई कार–टी सेल चढाएको थियो। उपचारपछि बिरामीको स्वास्थ्य अवस्था स्थिर रहेको र उनी स्वास्थ्यलाभ गरिरहेको संस्थाले जनाएको छ।
.webp)
उपचारको प्रभावकारिता, क्यान्सर नियन्त्रणमा आएको अवस्था र यसको प्रभाव कति समयसम्म कायम रहन्छ भन्ने मूल्यांकन गर्न चिकित्सकहरूले बिरामीको नियमित निगरानी गरिरहेका छन्। प्रारम्भिक नतिजा सकारात्मक देखिए पनि क्यान्सर पूर्ण रूपमा निको भएको निष्कर्षमा पुग्न थप परीक्षण र मूल्यांकन गर्न चिकित्सकहरूको भनाइ छ।
.webp)
उपचार टोलीको नेतृत्व गरेका हेमाटो–अन्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठका अनुसार नेपालमै कार–टी सेल विकास गरी बिरामीमा प्रयोग गर्न सक्नु क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो।विशेषगरी केमोथेरापीपछि क्यान्सर पुनः बल्झिएका वा केमोथेरापीले प्रभावकारी काम नगरेका केही प्रकारका रक्त क्यान्सरका बिरामीका लागि यो उपचार उपयोगी हुन सक्छ।
.jpeg)
डा. श्रेष्ठले डा. प्रशुन उपाध्यायलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीसँगको सहकार्यमा बिरामीको उपचार गरिएको जानकारी दिए। उनका अनुसार अमेरिका र बेलायतजस्ता देशमा कार–टी सेल थेरापी प्रयोगमा आएको झन्डै एक दशक भइसकेको छ। नेपालमै यस्तो उन्नत उपचार विकास गरी बिरामीमा प्रयोग गर्न सक्नु उपचार सेवाको विकासका दृष्टिले महत्वपूर्ण कदम हो।डा. श्रेष्ठले विशेषगरी केमोथेरापीपछि क्यान्सर पुनः बल्झिएका वा केमोथेरापीले प्रभावकारी काम नगरेका केही प्रकारका रक्त क्यान्सरका बिरामीका लागि कार–टी सेल थेरापी उपयोगी हुन सक्ने बताए।
“अमेरिका र बेलायतमा कार–टी सेल उपचार प्रयोगमा आएको झन्डै एक दशक भइसक्यो। तर नेपालजस्तो देशमा यति चाँडै यस्तो उन्नत उपचार पद्धति भित्रिएला भन्ने हामीले अपेक्षा गरेका थिएनौं,” उनले भने।
नेपालमै यो उपचार उपलब्ध गराउन सकिने आधार तयार भएसँगै केही प्रकारका रक्त क्यान्सरको उपचारका लागि भारत र चीनलगायत देशमाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ। आर्थिक तथा व्यावहारिक कठिनाइका कारण विदेशमा उपचार गराउन नसक्ने बिरामीलाई समेत स्वदेशमै उन्नत उपचार उपलब्ध गराउने दिशामा यो उपलब्धि महत्वपूर्ण मानिएको छ।
के हो कार–टी सेल थेरापी ?
कार–टी सेल थेरापी बिरामीको आफ्नै प्रतिरक्षा प्रणालीलाई परिमार्जन गरेर क्यान्सरका कोषविरुद्ध सक्रिय बनाउने आधुनिक उपचार पद्धति हो। यसमा बिरामीको शरीरबाट टी–सेल नामक प्रतिरक्षा कोष निकालिन्छ। त्यसपछि आनुवंशिक रूपमा परिमार्जन गरी क्यान्सर कोषमा रहेको निश्चित लक्ष्य पहिचान गर्न सक्ने बनाइन्छ।
प्रयोगशालामा ती कोषको संख्या वृद्धि गरेपछि पुनः बिरामीकै शरीरमा चढाइन्छ। शरीरमा पुगेका परिमार्जित टी–सेलले लक्षित क्यान्सर कोष पहिचान गरी नष्ट गर्न मद्दत गर्छन्।
सीआरएम नेपालले विकास गरेको कार–टी सेलले सीडी–१९ नामक प्रोटिनलाई लक्षित गर्छ। यो प्रोटिन केही प्रकारका रक्त क्यान्सरका कोषमा पाइन्छ। त्यसैले यो उपचार निश्चित प्रकारका ल्युकेमिया तथा लिम्फोमाका बिरामीमा प्रयोग गर्न सकिन्छ। यद्यपि, सबै प्रकारका क्यान्सरमा यो उपचार प्रभावकारी हुँदैन। बिरामीको अवस्था, क्यान्सरको प्रकार र पहिले गरिएका उपचारका आधारमा यसको उपयुक्तता निर्धारण गरिन्छ।
सीआरएम नेपालका प्रमुख वैज्ञानिक डा। सञ्जीवन गौतमका अनुसार उपचार गरिएका बिरामीको रगतमा कार–टी सेलको संख्या उत्साहजनक रूपमा बढेको र उपचारको प्रारम्भिक सकारात्मक प्रतिक्रिया देखिएको छ।
“बिरामीको रगतमा कार–टी सेलको संख्या उत्साहजनक रूपमा बढेको र उपचारको प्रारम्भिक सकारात्मक असर देखिएको हामीले पाएका छौं। यसले उपचारप्रति सुरुवाती प्रतिक्रिया आशाजनक रहेको संकेत गर्छ,” उनले भने।
कार–टी सेल थेरापीपछि प्रतिरक्षा प्रणालीको अत्यधिक प्रतिक्रिया तथा स्नायु प्रणालीसम्बन्धी जटिलता देखिन सक्ने भएकाले बिरामीको नजिकबाट निगरानी गर्नुपर्ने हुन्छ। त्यसैले प्रारम्भिक प्रतिक्रिया सकारात्मक भए पनि उपचारको दीर्घकालीन प्रभावकारिता र सुरक्षाबारे थप अध्ययन तथा चिकित्सकीय मूल्यांकन आवश्यक हुन्छ।