हाम्रो शरीरको ग्रन्थीसँग सम्बन्धित केही रोगहरू छन्। यीमध्ये एउटा थाइरोइड रोग हो, जुन हाम्रो थाइरोइड ग्रन्थीसँग सम्बन्धित छ। थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३० र ट्राइआयोडो थाइरोनीन) टी–४० हर्मोन उत्पादन गर्छ । शरीरको मेटाबोलिजम, ऊर्जा, मुटुको धड्कन, तौललगायत धेरै शारीरिक प्रक्रियामा थाइरोइड हर्मोनको भूमिका हुन्छ। त्यसैले थाइरोइड हर्मोन कम वा बढी हुँदा शरीरमा विभिन्न किसिमका समस्या देखिन सक्छन्।
थाइरोइडको समस्या महिला र पुरुष दुवैमा हुन सक्छ। तर विशेषगरी बच्चा पाउने उमेरका महिलामा थाइरोइडको समस्या देखिएमा यसलाई बेवास्ता गर्नु हुँदैन। गर्भावस्थामा थाइरोइड हर्मोनमा हुने असन्तुलनले आमा र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्यमा असर पार्न सक्छ।
गर्भधारण गर्नुअघि वा गर्भावस्थामा थाइरोइडको समस्या भएमा समयमै पहिचान र उपचार गर्नु महत्वपूर्ण हुन्छ। थाइरोइड हर्मोनको असन्तुलनका कारण गर्भधारणमा समस्या आउनु, गर्भ खेर जाने जोखिम बढ्नु तथा बच्चाको वृद्धि र विकासमा असर पर्न सक्ने भएकाले बच्चा पाउने योजना बनाइरहेका महिलाले चिकित्सकको सल्लाहअनुसार थाइरोइड परीक्षण गराउनु उपयोगी हुन्छ।
विशेषज्ञका अनुसार १८ देखि ३९ वर्षसम्मका महिलामा थाइरोइडसम्बन्धी कुनै लक्षण देखिएमा समयमै परीक्षण गर्नुपर्छ। विशेषगरी गर्भधारणको योजना बनाएका महिला तथा गर्भवती महिलाले चिकित्सकको सल्लाहअनुसार थाइरोइडको अवस्था जाँच गराउनु आवश्यक हुन्छ। थाइरोइड हर्मोनको असन्तुलन उपचार नगरी लामो समयसम्म रहँदा गर्भावस्थामा विभिन्न जटिलता निम्तिन सक्छन्। त्यसैले गर्भवती भएपछि मात्र होइन, गर्भधारणको योजना बनाउँदा पनि आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत हुनु महत्वपूर्ण हुन्छ।
दीर्घरोग भएका व्यक्तिले पनि थाइरोइड जाँच गराउनुपर्छ
थाइरोइडको समस्या अन्य दीर्घरोग भएका व्यक्तिका लागि पनि महत्वपूर्ण हुन्छ। मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगलगायत समस्या भएका व्यक्तिमा थाइरोइडको असन्तुलनले स्वास्थ्य अवस्थालाई थप जटिल बनाउन सक्छ। थाइरोइड कम हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ। त्यस्तै, थाइरोइड हर्मोन कम वा बढी हुँदा मुटुको धड्कन र रक्तचापमा समेत असर पर्न सक्छ। त्यसैले मधुमेह, रक्तचाप, कोलेस्ट्रोल वा मुटुसम्बन्धी समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार समय–समयमा थाइरोइड परीक्षण गराउनु उचित हुन्छ।
थाइरोइड नियन्त्रणमा राख्नु किन आवश्यक?
थाइरोइडको समस्या पहिचान भएपछि नियमित उपचार र परीक्षणमार्फत यसलाई नियन्त्रणमा राख्न सकिन्छ। तर लक्षण सामान्य भएको भन्दै औषधि आफैँ बन्द गर्ने, परीक्षण नगर्ने वा उपचारमा बेवास्ता गर्ने बानीले समस्या बढ्न सक्छ। थाइरोइड असन्तुलनले शरीरको समग्र स्वास्थ्य र दैनिक जीवनमा समेत असर पार्न सक्छ। त्यसैले अस्वाभाविक रूपमा तौल बढ्नु वा घट्नु, अत्यधिक थकान, मुटुको धड्कनमा परिवर्तन, चिसो वा गर्मी बढी महसुस हुनु, महिनावारीमा गडबडीजस्ता समस्या देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ।
थाइराइडबाट बच्ने तथा नियन्त्रणमा राख्ने उपाय
थाइराइडका सबै समस्या पूर्ण रूपमा रोक्न सकिँदैन। विशेषगरी वंशाणुगत कारण वा शरीरको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित समस्याबाट हुने थाइराइडलाई रोक्न कठिन हुन्छ। तर केही कुरामा ध्यान दिएर जोखिम कम गर्न र समस्या भएमा नियन्त्रणमा राख्न सकिन्छ।
- आयोडिनयुक्त नुन प्रयोग गर्ने
- सन्तुलित तथा पोषिलो खाना खाने
- नियमित व्यायाम गर्ने
- धुम्रपान नगर्ने, मदिरा सेवन नगर्ने
- चिनी, तेलयुक्त खानेकुरा, मैदाबाट बनेको चीजहरू तथा मसालेदार खानाबाट बच्ने
- तनाव कम गर्ने र पर्याप्त निद्रा लिने
- लक्षण देखिएमा समयमै जाँच गर्ने
- गर्भावस्थामा विशेष ध्यान दिने
- थाइराइड भए नियमित परीक्षण गर्ने
थाइरोइडसँग सम्बन्धित रोगहरू मुख्यतया अस्वस्थ खानपान र तनावपूर्ण जीवनका कारण हुन्छन्। यस्तो अवस्थामा सबैभन्दा पहिले आफ्नो खानपानमा ध्यान दिने र तनावबाट बच्ने । साथै, थाइरोइडको उपचारका लागि डाक्टरसँग सम्पर्क गर्नुपर्छ। विशेषगरी बच्चा पाउने उमेरका महिला, गर्भवती महिला तथा दीर्घरोग भएका व्यक्तिले थाइरोइडलाई सामान्य समस्या ठानेर बेवास्ता गर्नु हुँदैन। समयमै परीक्षण, चिकित्सकीय परामर्श र नियमित उपचारले थाइरोइडलाई नियन्त्रणमा राख्न तथा यसबाट हुन सक्ने जटिलता कम गर्न मद्दत गर्छ।
(मार्क इन्टरनेशनल किड्नी हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा. अक्षत मिश्रा संगको कुराकानिमा आधारित)