हुम्ला । एम्बुलेन्सको मर्मत खर्च र पारिश्रमिक भुक्तानीको विषयमा विवाद हुँदा एम्बुलेन्स चालक कुटपिटमा परेपछि हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन्।
४२ वर्षीय एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहमाथि कुटपिट गरेको आरोपमा गाउँपालिका अध्यक्ष प्यारिलाल शाहीलाई प्रहरीले मङ्सिर ४ गते पक्राउ गरेको हो। प्रहरीका अनुसार मङ्सिर ३ गते पारिश्रमिक माग्न गाउँपालिका अध्यक्षसमक्ष पुगेका सिंहमाथि हातपात भएको थियो। घटनामा टाउकोमा चोट लागेका सिंहलाई थप उपचारका लागि हवाईजहाजमार्फत नेपालगञ्ज लगिएको छ।
सिंह सात वर्षदेखि गाउँपालिकामा एम्बुलेन्स चालकका रूपमा कार्यरत थिए। एम्बुलेन्स बिग्रिएर मर्मतपछि पनि भुक्तानी नहुँदा ग्यारेजमै रहेको र पारिश्रमिकसमेत नपाएको विषयमा विवाद भएको चालकको भनाइ छ।
तर, प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा चालक मादक पदार्थ सेवन गरी गाउँपालिका अध्यक्षसमक्ष पुगेको र पहिले आफैँले आक्रमण गर्न खोजेको देखिएको जनाएको छ। घटनाबारे दुवै पक्षलाई प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।