काठमाडौं । प्रतिजैविक औषधि (एन्टिबायोटिक) को जथाभावी प्रयोगले औषधिप्रति सूक्ष्मजीवको प्रतिरोधात्मक क्षमता बढ्दै गएपछि यसको नियन्त्रण र रोकथामका लागि विश्वभर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदैछ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस वर्षको नारा ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको अग्रभागबाट रोकथाम’ (One Health, One Action: Prevent AMR Now) रहेको छ।
औषधि व्यवस्था विभागले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance-AMR) नियन्त्रण तथा रोकथामका लागि सबै सरोकारवालालाई सामूहिक र एकीकृत प्रयास गर्न आग्रह गरेको छ।
विभागका अनुसार प्रतिजैविक औषधिको अनुचित तथा अत्यधिक प्रयोग र दुरुपयोगका कारण सूक्ष्मजीवमा औषधिविरुद्ध प्रतिरोधात्मक क्षमता तीव्र रूपमा बढ्दै गएको छ। यसको असरले सामान्य सङ्क्रमणको उपचारसमेत जटिल बन्दै गएको छ। प्रतिजैविक प्रतिरोधले मानव स्वास्थ्यमा मात्र नभई पशुपन्छीको स्वास्थ्य, कृषि उत्पादन, खाद्य सुरक्षा तथा वातावरणमा समेत असर पारिरहेको विभागले जनाएको छ।
यस चुनौतीको न्यूनीकरणका लागि प्रतिजैविक औषधिको समुचित प्रयोग, सङ्क्रमण रोकथाम तथा नियन्त्रण, सरसफाइ, खोपको प्रवर्द्धन र प्रभावकारी निगरानी प्रणाली आवश्यक रहेको विभागको भनाइ छ। विशेषगरी चिकित्सकको सिफारिसबिना र आफूखुसी बिरामीले प्रतिजैविक औषधि प्रयोग नगर्न, निर्धारित मात्रा र तोकिएको अवधिसम्म मात्र औषधि सेवन गर्न विभागले आग्रह गरेको छ। औषधिको गलत प्रयोगले भविष्यमा सङ्क्रमणको उपचार कठिन बनाउने भएकाले औषधि सेवनसम्बन्धी नियम पालना गर्नुपर्ने विभागले जनाएको छ।
विभागले प्रतिजैविक औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको नियमन गर्दै आएको जनाएको छ। साथै, प्रतिजैविक औषधिको खपतसम्बन्धी तथ्याङ्क सङ्कलन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिवेदन गर्ने कामसमेत भइरहेको छ।
चिकित्सकीय सिफारिसबिना प्रतिजैविक औषधिको बिक्री वितरण नगर्न र आरक्षित समूहका एन्टिबायोटिक अस्पतालका फार्मेसीबाट मात्र बिक्री वितरण हुने व्यवस्था तथा त्यसको निगरानीलाई प्रभावकारी बनाउन विभागले जोड दिएको छ।
प्रतिजैविक प्रतिरोध कुनै एक व्यक्ति वा क्षेत्रको मात्र समस्या नभई जनस्वास्थ्यको साझा चुनौती भएकाले यसको रोकथाममा सबैको भूमिका महत्त्वपूर्ण रहेको विभागका महानिर्देशक भरत भट्टराईले बताएका छन्। सप्ताहका अवसरमा विभागले जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रममा सक्रिय सहभागिता जनाउन औषधि व्यवसायी, स्वास्थ्य सेवा प्रदायक, स्वास्थ्यकर्मी, पेसागत सङ्घसंस्था तथा अन्य सरोकारवालालाई आग्रह गरेको छ।
