जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिब १५० जना लाभान्वित भएका छन्। शिविरसँगै आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् भने दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
श्री रामजानकी आदर्श पुस्तकालयको आयोजनामा छठ पर्वको पारणका दिन सञ्चालन हुँदै आएको उक्त कार्यक्रम यस वर्ष १६औँ वर्षमा प्रवेश गरेको हो। स्थानीय बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि ईशान बाल तथा महिला अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ शल्यचिकित्सक प्रा. डा. रामेन्द्रप्रसाद चौधरी थिए। उनको सहयोग तथा निर्देशनमा काठमाडौंस्थित ईशान अस्पतालबाट चिकित्सकको टोलीसमेत सहभागी भएको थियो।
शिविरमा बाल शल्यचिकित्सक डा. रामेश्वर महासेठ, डा. बलराम शाहलगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए। बाल शल्यचिकित्सा, हाडजोर्नी, दन्तरोग तथा जनरल फिजिसियन सेवामार्फत स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा रक्तदानलाई पनि प्राथमिकता दिइएको थियो। संकलित रगतले आवश्यकतामा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैगरी, स्वर्गीय बाबाजी चौधरी र कबुतरी देवी चौधरीको स्मृतिमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, युवा, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो। जानकी आँखा अस्पतालका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्षसमेत सहभागी कार्यक्रममा आगामी वर्षदेखि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने घोषणा गरिएको आयोजकले जनाएको छ। स्थानीय समुदायलाई लक्षित गरी हरेक वर्ष आयोजना हुँदै आएको यस कार्यक्रमले स्वास्थ्य परीक्षण, रक्तदान र शैक्षिक सहयोगलाई एउटै अभियानमा जोड्दै आएको छ।