नयाँ दिल्ली। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का चिकित्सकले गर्भमै रहेको शिशुको मेरुदण्डको गम्भीर जन्मजात समस्या सच्याउन पहिलोपटक ओपन फिटल सर्जरी गरेका छन्।
२५ हप्ताको गर्भमा रहेको शिशुमा गरिएको करिब ६ घण्टा लामो शल्यक्रिया नोभेम्बर १२ मा सफलतापूर्वक सम्पन्न भएको एम्सले जनाएको छ।
शिशुमा मेरुदण्ड पूर्ण रूपमा बन्द नहुने समस्या अर्थात् लुम्बोसाक्रल माइलोमेनिङ्गोसील देखिएको थियो। यो स्पाइना बिफिडाको गम्भीर प्रकार हो। समयमै उपचार नभए यसले पक्षाघात, मस्तिष्कमा पानी जम्ने ९हाइड्रोसेफलस० लगायतका समस्या निम्त्याउन सक्छ।
एम्सको न्युरोसाइन्सेस सेन्टरमा अत्याधुनिक माइक्रोस्कोपी र अल्ट्रासाउन्डको निगरानीमा गरिएको शल्यक्रियामा विभिन्न विधाका ३० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए। एम्सका अनुसार शल्यक्रियाका लागि पाँच साताभन्दा बढी समय तयारी गरिएको थियो। यो उपचार निश्चित अवस्थाका गर्भवतीमा मात्र उपयुक्त हुने र जन्मजात स्नायु नलीको दोष रोक्ने विकल्प भने नभएको संस्थानले स्पष्ट पारेको छ।
शल्यक्रियापछि आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थालाई विशेषज्ञ टोलीले निरन्तर निगरानी गर्नेछ। उक्त उपचार भारत सरकारको जननी शिशु सुरक्षा कार्यक्रमअन्तर्गत परिवारलाई निःशुल्क उपलब्ध गराइएको एम्सले जनाएको छ।