काठमाडौं । चितवनको माडी नगरपालिका–३ मा कार्यरत सीएमए (चिकित्सा तृतीय समूह) स्वास्थ्यकर्मीको कार्यक्षेत्र र बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि सिफारिस गर्ने अधिकारबारे उठेका प्रश्नप्रति नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ।
परिषद्ले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सार्वजनिक भएका गुनासा र उजुरीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्यकर्मीले आफ्नो शैक्षिक योग्यता, व्यावसायिक दर्ता र निर्धारित कार्यक्षेत्रभित्र रहेर मात्र स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्पष्ट पारेको छ।
परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३, नियमावली, २०५६ तथा निर्धारित व्यावसायिक आचारसंहिताअनुसार परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीले आफ्नो योग्यता र व्यावसायिक कार्यक्षेत्रभित्र रहेर बिरामीको स्वास्थ्य परीक्षण, जाँच तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सक्ने उल्लेख छ।
तर, स्वास्थ्य सेवा प्रवाहका क्रममा कुनै स्वास्थ्यकर्मीले व्यावसायिक आचारसंहिता वा निर्धारित कार्यक्षेत्र उल्लङ्घन गरेको पाइएमा निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गरिने परिषद्ले जनाएको छ। माडीमा भएको घटनाबारे परिषद्ले जानकारी प्राप्त गरिसकेको र प्राप्त निवेदन, उजुरी तथा उपलब्ध तथ्य र प्रमाणका आधारमा थप अनुसन्धान, जाँचबुझ तथा अध्ययन गरी प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।
त्यस्तै, स्वास्थ्यकर्मीको कार्यक्षेत्र, अधिकार तथा जिम्मेवारीसम्बन्धी विषयमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि परिषद्बाट आधिकारिक जानकारी लिएर तथ्य पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
परिषद्ले सबै स्वास्थ्यकर्मीलाई आफ्नो व्यावसायिक मर्यादा कायम राख्दै निर्धारित आचारसंहिता र कार्यक्षेत्रभित्र रहेर सुरक्षित, गुणस्तरीय तथा जिम्मेवार स्वास्थ्य सेवा प्रदान गर्नसमेत अनुरोध गरेको छ। परिषद्का रजिस्ट्रार रमेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवाको गुणस्तर, स्वास्थ्यकर्मीको व्यावसायिक मर्यादा र आम नागरिकको सुरक्षित स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न परिषद् प्रतिबद्ध रहेको उल्लेख छ।
