काठमाडौं । नेपालका वरिष्ठ युरोलोजिस्ट डा. सञ्जय खड्गी अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित ‘एसआईयू डिस्टिङ्गुइस्ड करियर अवार्ड २०२६’ बाट सम्मानित भएका छन्।
इटालीको फ्लोरेन्समा आयोजित इन्टरनेसनल सोसाइटी अफ युरोलोजी (एसआईयू) को ४६औँ कांग्रेसका अवसरमा नोभेम्बर ११ मा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। युरोलोजी क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदान, उपचार प्रविधिको विकास तथा अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानमा खेलेको भूमिकाको कदरस्वरूप डा. खड्गीलाई सम्मान गरिएको हो।
डा. खड्गीले सन् २००५ मा नेपालमा मिर्गौलाको पत्थरी उपचारमा प्रयोग हुने मिनी–पीसीएनएल प्रविधि भित्र्याएका थिए। यो प्रविधिबाट सानो चिरामार्फत मिर्गौलाको पत्थरी निकाल्न सकिन्छ। उनले भारत, जर्मनी, चीन, फ्रान्सलगायत विभिन्न देशमा प्रत्यक्ष शल्यक्रिया प्रदर्शन तथा चिकित्सकीय प्रशिक्षणमार्फत आफ्नो अनुभव बाँड्दै आएका छन्।
सम्मानपछि डा. खड्गीले यसलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाल र नेपाली युरोलोजी क्षेत्रको गौरवका रूपमा लिएको बताएका छन्। उनले आगामी दिनमा पनि बिरामी सेवा, नयाँ पुस्ताका युरोलोजिस्टको प्रशिक्षण र उपचार प्रविधिको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। फ्लोरेन्समा प्राप्त यो सम्मानले अन्तर्राष्ट्रियस्तरमा नेपाली चिकित्सकको योगदान र पहिचानलाई थप उचाइ दिएको छ।