गाजा । दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा इजरायलले गरेको आक्रमणमा कम्तीमा छ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
बिहीबार बिहान खान युनिसस्थित अस्पतालको शल्यक्रिया विभागमा भएको आक्रमणबाट ठूलो क्षति पुगेको छ। मृत्यु हुनेमा एक जना शल्य चिकित्सकसमेत रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायलले हमासका वरिष्ठ लडाकु र अन्य सदस्यलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेना र सुरक्षा निकायले अस्पताललाई हमासले कमान्ड सेन्टर तथा हतियार भण्डारणस्थलका रूपमा प्रयोग गरेको आरोपसमेत लगाएका छन्।
गाजामा सन् २०२५ अक्टोबरदेखि युद्धविराम लागू भए पनि पछिल्लो आक्रमण भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी कम्तीमा ७४ हजार ६५३ प्यालेस्टिनीको मृत्यु भइसकेको छ।