काठमाडौँ । अफ्रिकी मुलुक कङ्गोमा इबोला सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । हालसम्म ११ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ३८७ जनाको मृत्यु भएको छ ।
कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार यो देशमा देखिएको अहिलेसम्मकै घातक इबोला प्रकोप हो । सङ्क्रमण नियन्त्रणमा सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली, स्वास्थ्यकर्मीमाथि आक्रमण र समुदायमा फैलिएको गलत सूचनाले चुनौती थपेको छ ।
प्रकोपका लागि जिम्मेवार ‘बुन्डिबुग्यो’ भाइरसविरुद्ध हालसम्म खोप तथा उपचार विधि उपलब्ध छैन । यो भाइरस कङ्गोका २६ मध्ये आठ प्रान्तमा फैलिएको छ । इतुरी र उत्तर किभु प्रान्त सबैभन्दा बढी प्रभावित छन् ।
स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितको उपचार र संक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा प्रभावित क्षेत्रमा पुग्ने वातावरण बनाउन आग्रह गरेका छन् । विद्यालयका शिक्षकसमेत सङ्क्रमित भएपछि विद्यार्थी र कर्मचारीको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।
सन् १९७६ मा पहिलोपटक पहिचान भएको इबोलाका विभिन्न प्रकोप देखिँदै आएका छन् । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको प्रकोपमा २८ हजारभन्दा बढी सङ्क्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो । हाल कङ्गोमा फैलिएको प्रकोप इबोलाको इतिहासमा दोस्रो सबैभन्दा घातक बनेको छ ।