हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालक सर्लाहीको कविलासी नगरपालिका–८ निवासी रविशङ्कर कुमार मण्डल रहेका छन्। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो।
दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकासहित १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। अन्य मृतकको पहिचान तथा दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।