काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म मनाइने आस्थाको महापर्व छठ विधिवत् रूपमा सम्पन्न भएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।
बिहानैदेखि काठमाडौंका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथलीलगायत छठघाटमा व्रतालु तथा श्रद्धालुको भीड लागेको थियो। व्रतालुहरू कम्मरसम्म पानीमा उभिएर गाईको दूध, जल, फूल तथा विभिन्न फलफूल र प्रसाद सूर्यदेवलाई अर्पण गर्दै पूजामा सहभागी भएका थिए।
छठको अन्तिम दिन बिहान गरिने यस विधिलाई ‘भोरका अरख’ भनिन्छ। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुले व्रत समापन गरी प्रसाद ग्रहण र वितरण गर्ने परम्परा छ। सन्तानको सुख, परिवारको आरोग्य, सुख–समृद्धि तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ मनाइने छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरिन्छ।
विशेषगरी तराई–मधेसमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौंसहित देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा समेत उत्साहपूर्वक मनाउन थालिएको छ। छठले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, एकता र प्रकृतिप्रतिको सम्मानको सन्देशसमेत दिने विश्वास गरिन्छ।