काठमाडौं । रोजगारीका लागि जापान पुगेका बेला मस्तिष्कघात भएपछि स्वास्थ्य समस्यासँग जुधिरहेकी २२ वर्षीया विष्णु कुँवर स्वदेश फर्किएकी छन्। लामो समयदेखि उपचाररत उनको काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा निःशुल्क उपचार सुरु गरिएको छ।
करिब सात महिनाअघि अचानक मस्तिष्कघात भएपछि विष्णुको स्वास्थ्य अवस्था जटिल बनेको थियो। विदेशी भूमिमा उपचार गराइरहेकी उनलाई आर्थिक अभावले थप समस्या पारेको थियो। उपचारलाई निरन्तरता दिन र नेपाल फर्किनसमेत कठिन भएपछि उनको अवस्थाबारे जानकारी पाएर सहयोगका लागि पहल गरिएको हो।
नेपाली कांग्रेसका नेता तथा केएमसीका सञ्चालक डा. सुनिलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याइएको हो। सोमबार नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेकी विष्णुलाई लिन डा. शर्मा विशेषज्ञ चिकित्सकको टोली र एम्बुलेन्ससहित विमानस्थल पुगेका थिए।
विमानस्थलबाट उनलाई सिधै केएमसी पुर्याएर भर्ना गरिएको अस्पतालले जनाएको छ। चिकित्सकको टोलीले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी थप उपचार अघि बढाएको छ। जापानमा रहँदा नेपाली युवा सुमन बानियाँले विष्णुको हेरचाह र स्वदेश फिर्तीका लागि सहयोग गरेका थिए। लामो समयदेखि परिवारबाट टाढा रहेकी विष्णु नेपाल आइपुगेपछि आमासँग भेट्दा भावुक बनेकी थिइन्।
डा. शर्माले अस्पतालबाट डिस्चार्ज नहुँदासम्म विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने बताएका छन्। आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नहुने भन्दै उनले केएमसीमा सम्भव भएसम्मका सबै उपचार सेवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
अहिले विष्णु अस्पतालमै चिकित्सकको निगरानीमा उपचार गराइरहेकी छन्। लामो समयको स्वास्थ्य संघर्षपछि स्वदेश फर्किएकी उनका लागि परिवारको साथ र निरन्तर उपचार अहिले सबैभन्दा महत्वपूर्ण बनेको छ।