काठमाडौं । बाढीपहिरो तथा प्राकृतिक विपद्ले जनजीवन अस्तव्यस्त बनाउँदा गर्भवती महिलाहरू थप जोखिममा पर्ने गरेका छन्। घरबास गुमाउनु, सडक तथा पुल अवरुद्ध हुनु र स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुँदा गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, औषधि सेवन र पोषणयुक्त खानपान प्रभावित हुने गरेको छ।
गत भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा गर्भवती महिलाहरूले यस्तै समस्या भोगिरहेका छन्। नियमित गर्भ जाँच गर्न अस्पताल पुग्न नसक्नु, पोषिलो खानेकुराको अभाव र सुरक्षित आवागमनको समस्या उनीहरूका लागि थप चुनौती बनेको छ।
बाढी प्रभावित क्षेत्रका केही गर्भवती महिलाले महिनौँसम्म नियमित स्वास्थ्य परीक्षण गराउन नपाएको बताएका छन्। सडक र पुल भत्किएपछि अस्पताल पुग्न जोखिमपूर्ण बाटो पार गर्नुपर्ने बाध्यता छ। कतिपय स्थानमा तुइनको सहारामा आवतजावत गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। उत्तरगया नगरपालिकाकी ३० वर्षीया नवीना घिमिरे तेस्रो सन्तान जन्माउने तयारीमा छिन्। बाढीपछि खानपान र नियमित स्वास्थ्य परीक्षण दुवैमा समस्या भएको उनको अनुभव छ। अस्पताल पुग्न घण्टौँ लाग्ने र बाटोको जोखिमका कारण गर्भावस्थामा थप डर र चिन्ता हुने गरेको उनले बताएकी छन्।
त्यस्तै, उत्तरगया–४ की माइली लामाले पनि बाढीपछि करिब दुई महिनासम्म नियमित स्वास्थ्य परीक्षण गराउन नपाएको बताएकी छन्। स्वास्थ्यचौकीमा सामान्य परीक्षण भए पनि आवश्यक जाँचका लागि अस्पताल पुग्नुपर्ने र भत्किएको सडकका कारण समस्या हुने गरेको उनको भनाइ छ।
रसुवाका स्वास्थ्यकर्मीका अनुसार बाढी प्रभावित क्षेत्रमा गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र मानसिक स्वास्थ्य परामर्शलाई निरन्तरता दिइएको छ। आवश्यक परे सुत्केरी गराउन हेलिकप्टरमार्फत त्रिशूली वा काठमाडौंका अस्पतालसम्म लैजाने व्यवस्था मिलाउने तयारीसमेत गरिएको छ। तर, सडक अवरुद्ध हुनु र यातायातको सहज पहुँच नहुनुले सेवा प्रवाहमा चुनौती थपिएको छ।
विपद्का बेला गर्भवतीको हेरचाह झन् आवश्यक
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार विपद्को समयमा गर्भवती महिलाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। यस्तो अवस्थामा पोषणयुक्त खानाको अभाव, नियमित परीक्षणमा अवरोध र मानसिक तनावले आमा तथा गर्भमा रहेको शिशुको स्वास्थ्यमा असर पार्न सक्छ।
गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनुका साथै आइरन, क्याल्सियम र फोलिक एसिडजस्ता आवश्यक औषधि तथा पूरक तत्त्व चिकित्सकको सल्लाहअनुसार सेवन गर्नुपर्ने उनी बताउँछन्। सरकारले उपलब्ध गराउने गर्भावस्थाका आवश्यक खोपसमेत छुटाउन नहुने उनको सुझाव छ।
खानपानमा दाल, भात, तरकारी, हरियो सागपात, दूध, दही, गेडागुडी र अण्डाजस्ता पोषणयुक्त खानेकुरा समावेश गर्नुपर्छ। पर्याप्त झोलिलो पदार्थ सेवन गर्नुका साथै शरीरलाई आवश्यक पर्ने पोषण नियमित रूपमा प्राप्त हुने गरी खाना खानुपर्ने डा. गौतम बताउँछन्।
विपद्का बेला गर्भवती महिलालाई सकेसम्म स्वास्थ्य संस्था वा अस्पतालको नजिक सुरक्षित स्थानमा राख्नुपर्ने उनको सुझाव छ। प्रसवपीडा सुरु भएमा, योनीबाट पानी बगेमा वा रगत देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुग्नुपर्छ।
बाढी प्रभावित क्षेत्रमा लामो र जोखिमपूर्ण यात्रा गर्नुपर्दा गर्भवती महिलाको स्वास्थ्यमा थप समस्या आउन सक्ने भएकाले आवश्यकताअनुसार सुरक्षित यातायातको व्यवस्था मिलाउनुपर्ने डा. गौतम बताउँछन्।
उनका अनुसार विपद्का कारण उत्पन्न डर, त्रास र तनावले गर्भवती महिलाको मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्छ। त्यसैले उनीहरूलाई परिवार तथा समुदायबाट भावनात्मक सहयोग र आवश्यक मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्छ।
पोषणको अभावले गर्भवती महिलामा कुपोषणको जोखिम बढाउनुका साथै शिशु कम तौलको जन्मिने र शारीरिक विकासमा असर पर्ने समस्या निम्त्याउन सक्छ। त्यसैले विपद्का बेला गर्भवती महिलालाई सुरक्षित आवास, पर्याप्त पोषण, नियमित स्वास्थ्य परीक्षण र आकस्मिक उपचारको पहुँच सुनिश्चित गर्नु आवश्यक छ।
प्राकृतिक विपद्का बेला राहत तथा उद्धारसँगै गर्भवती र सुत्केरी महिलाको विशेष स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्न सके मात्रै आमा र शिशुको स्वास्थ्य जोखिम कम गर्न सकिन्छ। सोर्स बीबीसी