काठमाडौं । औषधिको जथाभावी प्रयोग र एन्टिबायोटिक प्रतिरोध (एएमआर) बढ्दै गएको चुनौतीबीच औषधिको सुरक्षित, प्रभावकारी तथा तर्कसंगत प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
इन्टरनेसनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन्स (ईसियम)को आयोजनामा बिहीबारदेखि सुरु भएको तीनदिने सम्मेलनको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्रीले उद्घाटन गरेका हुन्।
सम्मेलनबारे जानकारी दिँदै ईसियमकी डा. फातिमा सुलेमानले विश्वभर एन्टिबायोटिक प्रतिरोधको समस्या बढ्दै गएको भन्दै औषधिको उचित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताइन्। सम्मेलनमा नेपालबाट पनि औषधिको प्रयोगको अवस्था, एन्टिबायोटिक खपत, औषधि सिफारिसमा देखिने त्रुटि र औषधिको तर्कसंगत प्रयोगसम्बन्धी अनुसन्धान प्रस्तुत गरिनेछ।
‘बदलिँदो विश्वमा औषधिको उचित प्रयोग’ मुख्य विषय रहेको सम्मेलनमा औषधिको उचित प्रयोग, एन्टिबायोटिक प्रतिरोध न्यूनीकरण, डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग, औषधि सुरक्षाको निगरानी र नीतिगत सुधारका विषयमा छलफल हुने जानकारि दिईन् ।
स्थानीय आयोजक समितिको नेतृत्व नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष डा. कादिर आलमले गरेका छन्। उनले सबैलाई स्वागत गर्दै सम्मेलनबाट प्राप्त निष्कर्ष तथा सुझाव नीति निर्माता र सम्बन्धित निकायसम्म पुर्याइने जनकारि दिएका थिए ।
नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा सञ्चालन हुने सम्मेलनमा नेपालसहित २३ देशका १५० भन्दा बढी स्वास्थ्य विज्ञ, चिकित्सक, फार्मासिस्ट, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थी सहभागी छन्।
आज सम्मेलनको दोस्रो दिन पनि औषधिको उचित प्रयोग, औषधि सिफारिसमा देखिने त्रुटि, नेपालमा औषधिको प्रयोगको अवस्था र एन्टिबायोटिक प्रतिरोध न्यूनीकरणलगायत विषयमा प्रस्तुति तथा छलफल हुनेछ। साथै विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय संस्थाका विज्ञले औषधिको गुणस्तरीय प्रयोग र औषधि सुरक्षासम्बन्धी अनुभव तथा अनुसन्धान समेत प्रस्तुत गर्नेछन्।