काठमाडौं । औषधिको जथाभावी प्रयोग र एन्टिबायोटिक प्रतिरोध (एएमआर) बढ्दै गएको चुनौतीबीच औषधिको सुरक्षित र प्रभावकारी प्रयोगबारे छलफल गर्न काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
इन्टरनेशनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन (आईएसआईयुएम) को आयोजनामा आजदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित २३ देशका करिब १५० जना स्वास्थ्य विज्ञ, चिकित्सक, फार्मासिस्ट, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थी सहभागी हुँदैछन्।
नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा सञ्चालन हुने सम्मेलनको मुख्य विषय ‘बदलिँदो विश्वमा औषधिको उचित प्रयोग’ रहेको छ।
नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष तथा सम्मेलनका स्थानीय आयोजक समितिका अध्यक्ष डा. कादिर आलमका अनुसार सम्मेलनमा औषधिको उचित प्रयोगमा डिजिटल प्रविधिको उपयोग, अनुसन्धान, शिक्षा तथा सचेतना र नीतिगत सुधारका विषयमा छलफल हुनेछ।
सम्मेलनमा ६२ वटा पोस्टर प्रस्तुति, २५ वटा मौखिक प्रस्तुति, दुईवटा प्लेनरी सत्र र विभिन्न कार्यशाला सञ्चालन हुनेछन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायत अन्तर्राष्ट्रिय संस्थाका विज्ञले औषधिको गुणस्तरीय प्रयोग, औषधि सुरक्षाको निगरानी र एन्टिबायोटिक प्रतिरोध न्यूनीकरणका उपायबारे आफ्ना अनुभव तथा अनुसन्धान प्रस्तुत गर्नेछन्।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई) र च्याटजीपीटीजस्ता प्रविधिको प्रयोगबाट बिरामीलाई औषधिसम्बन्धी सही सूचना तथा परामर्श दिन सकिने सम्भावनाबारे समेत छलफल हुनेछ।
कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आईएसआईयुएमकी डा. फातिमा सुलेमानले विश्वभर एन्टिबायोटिक प्रतिरोधको समस्या बढ्दै गएको भन्दै औषधिको उचित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताइन्। नेपालबाट पनि औषधिको प्रयोगको अवस्था, एन्टिबायोटिक खपत, औषधि सिफारिसमा देखिने त्रुटि र औषधिको तर्कसंगत प्रयोगसम्बन्धी अनुसन्धान प्रस्तुत गरिनेछ।
औषधि आवश्यकताभन्दा बढी सेवन गर्ने, चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्ने तथा एन्टिबायोटिकको गलत प्रयोग गर्ने प्रवृत्तिले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ। विशेषगरी एन्टिबायोटिकको अनुचित प्रयोगले औषधिले संक्रमणविरुद्ध काम नगर्ने अवस्था अर्थात् प्रतिरोधको जोखिम बढाउँछ।
सम्मेलनबाट प्राप्त निष्कर्ष तथा सुझाव नीति निर्माता र सम्बन्धित निकायसम्म पुर्याइने आयोजकले जनाएको छ। औषधिको उचित प्रयोग प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय अनुभव र अनुसन्धानबाट व्यावहारिक उपाय पहिचान गर्न सम्मेलन उपयोगी हुने अपेक्षा गरिएको छ।