काठमाडौं । लामो समय बसेर वा सुतेर उठ्दा अचानक चक्कर लाग्ने, आँखा धमिलो हुने वा शरीर कमजोर महसुस हुने समस्या छरु यस्तो अवस्थालाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन। यो रक्तचाप अचानक कम हुने समस्या अर्थात् ‘पोस्चरल हाइपोटेन्सन’ हुन सक्छ।
पोस्चरल हाइपोटेन्सन भनेको बसेको वा सुतेको अवस्थाबाट उभिँदा तीन मिनेटभित्र रक्तचाप अचानक कम हुनु हो। यस्तो हुँदा मस्तिष्कमा पर्याप्त रगत तथा अक्सिजन पुग्न नसकेर चक्कर लाग्ने र अन्य समस्या देखिन सक्छन्।
सामान्यतया केही मानिसको रक्तचाप प्राकृतिक रूपमै कम हुन्छ। तर त्यसले स्वास्थ्यमा असर नगरेको अवस्थामा चिन्ता गर्नुपर्दैन। तर उठ्नेबित्तिकै रक्तचाप घटेर समस्या देखिन थालेमा भने सतर्क हुनुपर्छ।
यस्ता छन् लक्षण
पोस्चरल हाइपोटेन्सन हुँदा चक्कर लाग्ने, टाउको गह्रौँ हुने, आँखा धमिलो देखिने, वाकवाकी लाग्ने, अन्योल हुने र थकान महसुस हुनेजस्ता लक्षण देखिन सक्छन्। कतिपय अवस्थामा मानिस बेहोस भएर लड्नसमेत सक्छन्।
विशेषगरी वृद्धवृद्धामा यस्तो समस्या हुँदा लडेर गम्भीर चोटपटक लाग्ने जोखिम हुन्छ। हातखुट्टा चिसो हुने, पसिना आउने, छिटोछिटो सास चल्ने र ध्यान केन्द्रित गर्न कठिन हुने समस्या पनि देखिन सक्छ।
लो ब्लड प्रेसरलाई पनि बेवास्ता नगर्नुहोस्
उच्च रक्तचापलाई स्वास्थ्यका लागि जोखिमपूर्ण मानिएजस्तै अत्यधिक कम रक्तचाप पनि समस्याको कारण बन्न सक्छ। शरीरमा रगतको मात्रा कम हुनु, गम्भीर सङ्क्रमण, मुटुसम्बन्धी रोग, हर्मोनको समस्या तथा गम्भीर एलर्जीले पनि रक्तचाप घटाउन सक्छ।
कसरी गर्ने व्यवस्थापन ?
- पोस्चरल हाइपोटेन्सनको समस्या कम गर्न दैनिक व्यवहारमा केही सावधानी अपनाउन सकिन्छ।
- सुतेको अवस्थाबाट उठ्दा हतार नगर्ने। पहिले बिस्तारै बस्ने र केही समयपछि मात्र उभिने।
- उठ्दा आवश्यक परे ओछ्यान वा अन्य वस्तुको सहारा लिने।
- खुट्टाको रक्तसञ्चार सहज बनाउन हल्का व्यायाम तथा स्ट्रेचिङ गर्ने।
- उठ्नेबित्तिकै एक्कासि निहुरिएर सामान नउठाउने।
- सुत्दा टाउको र शरीरको माथिल्लो भाग केही उचाइमा राख्ने उपाय अपनाउने।
- बारम्बार चक्कर लाग्ने, बेहोस हुने वा उठ्दा असहज महसुस हुने समस्या भए चिकित्सकसँग परामर्श लिनुपर्छ। रक्तचाप कम हुनुको कारण पहिचान गरेर आवश्यक उपचार गर्नु महत्त्वपूर्ण हुन्छ।
नोट : यो सामग्री सामान्य स्वास्थ्य जानकारीका लागि तयार गरिएको हो। कुनै पनि स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाह लिनुहोस्।