काठमाडौं । मोबाइल, ल्यापटप र कम्प्युटरको अत्यधिक प्रयोग तथा गलत बसाइ आधुनिक जीवनशैलीका कारण गर्दन दुख्ने समस्या बढ्दै गएको छ। लामो समयसम्म टाउको निहुराएर स्क्रीन हेर्ने, कुप्रो परेर बस्ने र एउटै अवस्थामा घण्टौँ बिताउने बानीले गर्दनका मांसपेशीमा अतिरिक्त दबाब पर्न सक्छ।
विशेषज्ञहरूका अनुसार सामान्य अवस्थामा टाउकोको भार गर्दनमा करिब ५.४ किलोग्राम बराबर पर्छ। तर टाउको अगाडि झुकाएर बस्दा गर्दनमा पर्ने दबाब निकै बढ्न सक्छ। यसले गर्दन दुख्ने, मांसपेशी कडा हुने र असहजता महसुस हुने समस्या निम्त्याउन सक्छ।
गर्दन दुख्ने समस्या जीवनको कुनै न कुनै समयमा धेरै मानिसले अनुभव गर्छन्। यसबाट बच्न नियमित शारीरिक गतिविधि, सही बसाइ र गर्दनका मांसपेशीलाई सक्रिय राख्ने अभ्यास महत्त्वपूर्ण हुन्छ।
गर्दन स्वस्थ राख्ने पाँच उपाय
१. टाउकोलाई बिस्तारै दायाँ–बायाँ घुमाउने: आरामदायी अवस्थामा बसेर वा सुतेर टाउकोलाई बिस्तारै दायाँ र बायाँतर्फ घुमाउने अभ्यास गर्न सकिन्छ। यसले गर्दनको लचकता कायम राख्न मद्दत गर्छ। दुखाइ बढ्ने गरी जबर्जस्ती भने गर्नु हुँदैन।
२. बस्ने आसन मिलाउने: कम्प्युटरमा काम गर्दा ढाड सीधा, काँध आरामदायी र गर्दन मेरुदण्डसँग प्राकृतिक रूपमा मिलेको अवस्थामा राख्नुपर्छ। स्क्रीन आँखाको उचाइमा राख्दा टाउको निहुराउनुपर्ने अवस्था कम हुन्छ।
३. चिउँडो अगाडि निकालेर नबस्ने: लामो समय स्क्रीन हेर्दा टाउको र चिउँडो अगाडि सर्ने बानी हुन सक्छ। चिउँडोलाई हल्का भित्रतिर तानेर टाउकोलाई काँधसँग मिलाएर राख्ने अभ्यास गर्न सकिन्छ।
४. नियमित विश्राम लिने: लामो समयसम्म एउटै अवस्थामा नबस्ने, बीचबीचमा उठेर हिँड्ने र गर्दन तथा काँधलाई सहज रूपमा चलाउने गर्नुपर्छ।
५. गर्दनका मांसपेशी बलिया बनाउने: आफ्नो स्वास्थ्य अवस्थाअनुसार गर्दनका मांसपेशी सक्रिय बनाउने हल्का अभ्यास गर्न सकिन्छ। तर दुखाइ बढेमा अभ्यास रोक्नुपर्छ र आवश्यक परे चिकित्सकको सल्लाह लिनुपर्छ।
गर्दन दुखाइ लामो समयसम्म रहिरहेमा वा हातमा झमझमाहट, कमजोरीजस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ। नियमित गतिविधि र सही आसनले गर्दनमा पर्ने अनावश्यक दबाब कम गर्न मद्दत गर्छ।