धनगढी । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउँदै आएको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले ७१औँ प्रहरी दिवसको अवसरमा निसर्ग हस्पिटललाई कदरपत्र प्रदान गरेको हो। अस्पतालका अध्यक्ष तीर्थराज पन्तलाई स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
प्रहरी कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारी, अमर तथा वीरगति प्राप्त प्रहरीका आश्रित परिवारलाई विभिन्न स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसबाट प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।
धनगढीको हसनपुरमा रहेको १०० शय्याको निसर्ग हस्पिटलले विशेषज्ञ चिकित्सकीय सेवा, आकस्मिक उपचार, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासाउन्ड, सिटी स्क्यान, शल्यक्रियालगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालले बिरामीलाई आवश्यकताअनुसार विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ।
स्वास्थ्य सेवालाई व्यवसायमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको अस्पतालले विपन्न तथा असहाय नागरिकको उपचारमा सहयोग, सामाजिक संस्थालाई आर्थिक सहायता र विपद्मा परेका समुदायलाई राहत उपलब्ध गराउने कामसमेत गर्दै आएको छ।
अस्पतालका अध्यक्ष पन्तले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँगै विपन्न, असहाय तथा आवश्यकतामा परेका नागरिकलाई सहयोग गर्ने सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।