काठमाडौं । दशैँ भत्ता, पोशाक भत्ता र महँगी भत्ता नपाएको भन्दै वीर अस्पतालका फार्मेसी सहायक आन्दोलनमा उत्रिएका छन्। उनीहरूले अस्पताल परिसरमा प्रदर्शन गर्दै समान सुविधा उपलब्ध गराउन माग गरेका छन्।
कर्मचारीका अनुसार अस्पतालमा करिब ४०० करार कर्मचारीमध्ये ३५० जनाले भत्ता पाएका छन् भने ५० जना वञ्चित भएका छन्। आफूहरूमाथि विभेद भएको उनीहरूको आरोप छ। कर्मचारीको मागबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले असोज २८ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० लाई पत्राचार गर्दै प्रचलित कानुनअनुसार समस्या समाधान गर्न अनुरोध गरेको थियो। तर, भत्ता उपलब्ध गराउने निर्णय अझै भएको छैन।
अस्पताल प्रशासनका अनुसार गत वर्ष महालेखापरीक्षकको कार्यालयले भत्तासम्बन्धी विषयमा बेरुजु औँल्याएकाले वितरणका लागि अर्थ मन्त्रालयको सहमति र कार्यकारी बैठकको निर्णय आवश्यक छ। उपकुलपति देशबाहिर रहेकाले बैठक बस्न नसक्दा प्रक्रिया रोकिएको प्रशासनको भनाइ छ।
अन्य सरकारी अस्पतालमा कार्यरत अस्थायी कर्मचारीले समेत चाडपर्व खर्च, पोशाक र महँगी भत्ता पाएको दाबी गर्दै वीर अस्पतालका कर्मचारीले आफूहरूलाई पनि समान सुविधा दिन माग गरेका छन्।