उदयपुर । उदयपुरस्थित जिल्ला अस्पतालमा चिकित्सक अनुपस्थित हुँदा चार दर्जनभन्दा बढी बिरामी उपचार नपाई घर फर्किएका छन्।
बिहीबार ओपिडीको पुर्जा लिएर उपचारको प्रतीक्षामा बसेका बिरामी चिकित्सक नभेटिएपछि निराश हुँदै फर्किएका हुन्। छालासम्बन्धी समस्या लिएर बिहान ८ बजे अस्पताल पुगेका त्रियुगा नगरपालिका–१२ का गोपालकृष्ण तिम्सिना पनि साढे १० बजेसम्म पालो कुर्दा उपचार नपाएपछि फर्किन बाध्य भए।
अस्पतालको एक नम्बर ओपिडीमा कार्यरत एमडिजिपी चिकित्सक डा। रन्दीप राउत बिदामा रहेपछि सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ। निमित्त मेडिकल सुपरिटेन्डेन्ट सन्तोष राईले चिकित्सकको अनुपस्थितिमा मेडिकल अधिकृत खटाइएको भए पनि पुर्जा वितरण गर्ने कर्मचारीलाई चिकित्सकको उपलब्धताबारे जानकारी नहुँदा समस्या भएको बताए।
उनले आगामी दिनमा पुर्जा काट्ने काउन्टरबाटै चिकित्सकको उपलब्धताबारे जानकारी दिने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। यसअघि जिल्ला अस्पतालले इन्डोस्कोपी मेसिन र जेनेरेटर खरिदका लागि कोशी प्रदेश सरकारले विनियोजन गरेको बजेटसमेत खर्च गर्न नसकेको थियो। नियमित उपचार सेवा प्रभावित हुनु र स्वास्थ्य उपकरण खरिदको बजेट खर्च नहुनुले अस्पतालको सेवा व्यवस्थापनमाथि प्रश्न उठेको छ।