बाँके । लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ। मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको दोस्रो उच्च जोखिममा रहेको प्रदेश भएको आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरुणकुमार बुढाले बताएका छन्।
उनका अनुसार रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलगायत जिल्लामा कुष्ठरोगको जोखिम बढी छ। नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ अस्पतालको सेवाक्षेत्रभित्र पर्छन्। लुम्बिनीमा बालबालिकामा समेत कुष्ठरोग सङ्क्रमण देखिनु चिन्ताको विषय रहेको उनले बताए।
नेपाल सरकारको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा करिब दुई हजार ५०० नयाँ कुष्ठरोगी पहिचान भएका छन्। तीमध्ये करिब २५ प्रतिशत लुम्बिनी प्रदेशका रहेको आइएनएफ नेपालले जनाएको छ।
कुष्ठरोग पहिचानमा ढिलाइ हुनुमा गरिबी, स्वास्थ्य सेवामा पहुँचको अभाव, सामाजिक भेदभाव र लाञ्छना प्रमुख कारण रहेको डा। बुढाको भनाइ छ।
यसैबीच, बाँकेको जानकी गाउँपालिका–मानपुरस्थित साइनिङ अस्पताललाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीलाई सेवा दिने क्षेत्रीय उपचार केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले अस्पतालको सेवा विस्तार गर्न लागिएको हो।
करिब दुई करोड ३५ लाख रुपैयाँको लागतमा २५ शय्याको अन्तरङ्ग सेवा भवन निर्माण भइरहेको छ। भवनमा पाँचवटा वार्ड, ह्विलचेयरमैत्री शौचालय, नर्सिङ स्टेसन, उपचार कक्ष र औषधि भण्डारण कक्ष रहनेछन्।
आइएनएफका अन्तर्राष्ट्रिय कार्यकारी प्रमुख रिचर्ड रिभले नेपालमा कुष्ठरोग नियन्त्रणका लागि ठूलो लगानी भए पनि अझै चुनौती रहेको बताए। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले अस्पतालको सेवा विस्तारमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्।
नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा पुर्याउने रणनीति लिएको छ।