काठमाडौं । जाडो सुरु भएसँगै छाला सुख्खा हुने, चिलाउने, रातो हुने, बिबिरा आउने तथा हातखुट्टाका औँला सुन्निने समस्या धेरैमा देखिन थाल्छ। चिसो र सुख्खा हावाका कारण छालाको प्राकृतिक चिल्लोपना कम हुँदा यस्ता समस्या बढ्ने गर्छन्।
छालाको सुख्खापनले पहिले नै रहेको एलर्जी तथा छालासम्बन्धी समस्यालाई थप बल्झाउन सक्छ। विशेषगरी घाम, धुलोधुवाँ, ऊनी कपडा तथा वातावरणीय प्रभावका कारण जाडोमा छालामा विभिन्न प्रतिक्रिया देखिन सक्छन्।
छालारोग विशेषज्ञ डा. उमा केएलका अनुसार जाडोमा घाम ताप्ने बानीका कारण घामको एलर्जी देखिन सक्छ। त्यस्तै ऊनी कपडा सिधै शरीरमा लगाउँदा पनि कतिपयलाई चिलाउने तथा एलर्जी हुने गर्छ। त्यसैले ऊनी कपडाभित्र सुतीको कपडा लगाउनु उपयुक्त हुन्छ।
एलर्जीका लक्षण कस्ता हुन्छन् ?
एलर्जी हुँदा छालामा रातोपन देखिने, ससाना बिबिरा आउने तथा समस्या बढ्दै जाँदा ठूला डाबर आउने हुन सक्छन्। जाडोमा छाला बढी सुख्खा हुने भएकाले चिलाउने समस्या पनि बढ्छ। यस्तो अवस्थामा छालालाई चिल्लो राख्न नरिवलको तेल, बाक्लो बडी क्रिम वा भ्यासलिन प्रयोग गर्न सकिन्छ। ओठ फुट्ने समस्या रोक्न पनि नियमित लिप बाम वा भ्यासलिन लगाउन चिकित्सकको सुझाव छ।
घामबाट जोगिन सन्सक्रिम आवश्यक
घामको किरणबाट छालामा एलर्जी मात्र नभई छिटो बुढ्यौली देखिने, तिलकोठी आउने तथा छालाको क्यान्सरको जोखिमसमेत बढ्न सक्छ। त्यसैले जाडोमा पनि नियमित सन्सक्रिम प्रयोग गर्नुपर्छ। सन्सक्रिमले मात्र पूर्ण सुरक्षा नदिने भएकाले बाहिर निस्कँदा छाता ओढ्ने, ह्याट लगाउने र शरीरका खुला भाग ढाक्ने गर्नुपर्छ। सन्सक्रिम प्रयोग गर्दा भिटामिन डी बन्न रोक्छ भन्ने धारणा पनि भ्रम रहेको डा। केएल बताउँछिन्।
खानपानभन्दा बाहिरी वातावरणको प्रभाव बढी
छालाको एलर्जी खानपानका कारण मात्रै हुन्छ भन्ने छैन। धुलोधुवाँ, घाम, भुवादार कपडा, जनावर तथा बोटबिरुवाको सम्पर्कबाट पनि एलर्जी हुन सक्छ। कुन कुराले एलर्जी गराउँछ भन्ने पहिचान गरी त्यसबाट टाढा रहनु आवश्यक हुन्छ।
जाडोमा बल्झिने अन्य छालाका समस्या
जाडोमा एलर्जीबाहेक सोरायसिस, चिलब्लेन्स, हातखुट्टाका औँलाको टुप्पो सुन्निने, दुख्ने र चिलाउने समस्या पनि बढ्न सक्छ। त्यस्तै टाउकोमा चाया पर्ने र चिलाउने समस्या पनि धेरैमा देखिन्छ। चाया पर्ने समस्या भएकाले कपालमा तेल लगाउनु उपयुक्त हुँदैन। विशेषगरी बाक्लो तेलले चाया बढाउन सक्ने भएकाले तेल नलगाउन वा लगाएमा केही समयपछि स्याम्पुले सफा गर्न चिकित्सकको सुझाव छ।
जाडोमा छालाको स्याहार कसरी गर्ने ?
छालालाई स्वस्थ राख्न केही कुरामा ध्यान दिनुपर्छ।
- छालामा नियमित रूपमा बाक्लो मोइस्चराइजर, बडी क्रिम वा तेल लगाउने।
- पर्याप्त मात्रामा पानी पिउने। तिर्खा कम लागे पनि शरीरको आवश्यकताअनुसार पानी सेवन गर्ने।
- जाडोमा पनि नियमित सन्सक्रिम प्रयोग गर्ने।
- ऊनी कपडाभित्र सुतीको कपडा लगाउने।
- धुलोधुवाँबाट एलर्जी हुनेले बाहिर निस्कँदा मास्क लगाउने।
- चाया पर्ने समस्या भए कपालमा तेल नलगाउने र नियमित सफा राख्ने।
यी उपाय अपनाउँदा पनि छालामा एलर्जी वा अन्य समस्या देखिएमा जथाभावी औषधि प्रयोग नगरी छालारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। समयमै उपचार नगर्दा समस्या बल्झिन सक्ने चिकित्सकको सुझाव छ।