इलाम । पूर्वी पहाडी जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा उपलब्ध गराउने उद्देश्यले इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने तयारी अघि बढाइएको छ।
प्रस्तावित प्रतिष्ठान स्थापनाका लागि इलाम नगरपालिकाले जग्गा व्यवस्थापन, भौतिक पूर्वाधार, जनशक्ति तथा आवश्यक नीतिगत व्यवस्थाको आधार तयार पार्न थालेको हो।
इलाम नगरपालिकाका प्रमुख केदार थापाका अनुसार इलामको स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको विकासलाई केन्द्रमा राखेर प्रतिष्ठान स्थापनाको प्रस्ताव अघि बढाइएको छ। नेपाल सरकार र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीबीच गत कात्तिक २९ गते भएको सहमतिलाई आधार बनाएर नगरपालिकाले आवश्यक तयारी थालेको उहाँले बताउनुभयो।
नगरपालिकाले प्रतिष्ठान स्थापनासम्बन्धी आधारपत्र तयार गरी सङ्घीय सरकारसँग समेत आवश्यक पहल र छलफल अघि बढाएको जनाएको छ। प्रतिष्ठान स्थापनाका लागि करिब १ हजार ४ सय रोपनी जग्गा तयारी अवस्थामा रहेको नगरपालिकाले जनाएको छ। त्यसैगरी इलाम अस्पताल परिसर तथा आसपासका क्षेत्रमा थप आवश्यक जग्गा व्यवस्थापन गर्ने तयारी गरिएको छ।
प्रस्तावित प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न इलाम अस्पताललाई ३ सय शय्याको शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। यसका लागि आवश्यक भवन निर्माण, जनशक्ति व्यवस्थापन र सङ्घीय ऐन निर्माणलाई प्राथमिकतामा राखिएको छ। भवन निर्माणका लागि भारतीय राजदूतावासमार्फत सहयोग जुटाउने प्रस्तावसमेत गरिएको छ।
हाल इलाम अस्पतालले सय शय्याको संरचनाअनुसार सेवा सञ्चालन गर्दै आएको आधारपत्रमा उल्लेख छ। अस्पतालबाट बहिरङ्ग सेवा ९ओपीडी०, रेडियोलोजी, प्रयोगशाला, आकस्मिक तथा अन्तरङ्ग सेवा, डायलाइसिस, मातृ तथा शिशु सेवा र फार्मेसीलगायतका सेवा उपलब्ध हुँदै आएका छन्।
प्रतिष्ठान स्थापना भएमा इलामसहित पाँचथर, ताप्लेजुङ, तेह्रथुम, झापा र मोरङलगायत जिल्लाका नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै चिकित्सा शिक्षा अध्ययनको अवसर पाउने अपेक्षा गरिएको छ । नगरपालिकाका अनुसार प्रस्तावित प्रतिष्ठानबाट पूर्वी पहाडी तथा तराई क्षेत्रका करिब १० लाख नागरिक लाभान्वित हुने अनुमान गरिएको छ।