मोरङ । मोरङको तेतरियामा आयोजित निःशुल्क बहुविशेषज्ञ स्वास्थ्य शिविरबाट ३०० भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका छन्।
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा तथा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगर र रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।तेतरियास्थित श्री देवी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकले स्थानीयको स्वास्थ्य परीक्षण तथा उपचार परामर्श दिएका थिए।
शिविरमा छाला तथा यौनरोग विशेषज्ञ डा. ऋचा शर्मा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निशा अधिकारी, अर्थोपेडिक सर्जन डा. धीरज ठाकुर र फिजिसियन डा. अनिल आचार्यसहित मेडिकल अफिसरहरूको टोली सहभागी थियो।
शिविरमा जनरल फिजिसियन सेवा, हाडजोर्नी तथा नसा सम्बन्धी समस्या, छाला तथा एलर्जी, महिला स्वास्थ्य, आँखा परीक्षण र फिजियोथेरापी सेवा उपलब्ध गराइएको थियो। विशेषगरी जोर्नी दुख्ने, ढाड दुख्ने, मांसपेशी तथा नसासम्बन्धी समस्या भएका बिरामीलाई परीक्षणसँगै आवश्यक परामर्श र फिजियोथेरापीसम्बन्धी अभ्याससमेत गराइएको थियो।
त्यसैगरी, शिविरमा निःशुल्क ब्लड सुगर परीक्षण, ईसीजी तथा औषधि वितरणको व्यवस्था गरिएको थियो। रामलाल गोल्छा आँखा अस्पतालको टोलीले स्थानीयको आँखा तथा दृष्टि परीक्षण गरेको थियो। विराटनगरसम्म पुगेर विशेषज्ञ स्वास्थ्य सेवा लिन समय र खर्च लाग्ने ग्रामीण तथा अर्धसहरी क्षेत्रका बासिन्दालाई लक्षित गरी शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
शिविरमा तेतरिया र आसपासका क्षेत्रका स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। एकै स्थानमा विभिन्न रोगका विशेषज्ञबाट स्वास्थ्य परीक्षण तथा परामर्श पाउँदा ज्येष्ठ नागरिक, महिला र श्रमिक वर्गलाई विशेष सहजता भएको आयोजकको भनाइ छ।
न्युरो हस्पिटलले आगामी दिनमा पनि प्रदेश तथा स्थानीय तहका विभिन्न क्षेत्रमा यस्ता निःशुल्क स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



