काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउन बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ।
बोर्डले आधुनिक प्रविधि र नयाँ आर्किटेक्चरमा आधारित अद्यावधिक प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।
नयाँ प्रणालीले स्वास्थ्य सेवा प्रदायकबाट प्राप्त हुने उपचारसम्बन्धी दाबीहरूको छिटो तथा प्रभावकारी रुजु र मूल्याङ्कन गर्न सहयोग पुग्ने बोर्डको भनाइ छ। यसबाट राष्ट्रिय परिचयपत्र (एनआईडी) सँगको अन्तरआबद्धता तथा तथ्याङ्कको वैधता र गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, दाबीमा भएका त्रुटि तथा असामान्य विवरण पहिचान गर्न प्रणालीमा फ्ल्यागिङको व्यवस्था गरिएको छ। बीमितको अभिलेख खोजी तथा पहिचान गर्न र सेवा प्रदायकको अवस्थासम्बन्धी विवरण अनुगमन गर्न सकिने व्यवस्था पनि प्रणालीमा समेटिएको बोर्डले जनाएको छ।
स्तरोन्नति गरिएको प्रणालीले सूचना सुरक्षा, प्रणालीको गति, कार्यसम्पादन र विश्वसनीयता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। यसका साथै आगामी दिनमा कृत्रिम बुद्धिमत्तामा आधारित प्रविधि (एआई) को प्रयोग तथा विकासका लागि समेत आधार तयार हुने बोर्डको विश्वास छ।
स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल रूपान्तरण, सेवा प्रवाहमा सुधार तथा नागरिकमैत्री स्वास्थ्य बीमा प्रणाली विकासमा नयाँ प्रणालीले थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।