काठमाडौं- देशभर पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ । यसभन्दा अघि सरकारले कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तय गरेपनि दशैं परेकाले समय परिर्वतन गरेकोे हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कात्तिक ७ र ८ गते भिटामिन 'ए' कार्यक्रम सञ्चालन हुने छ। उक्त कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन 'ए' खुवाउनुका साथै जुकाको औषधि र बालभिटा समेत दिइन्छ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिस अनुसार सचिवस्तरीय निर्णयबाट नयाँ मिति तय भएको हो। मिति परिवर्तन भएको जानकारी सबै ७५३ वटै स्थानीय तहलाई गराइएको छ। भिटामिन 'ए' कार्यक्रमका लागि सहजिकरण गरिदिन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध पनि गरेको छ ।