काठमाडौं- नेपालगन्ज उपमहानगर र बागलुङका केहि क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समिति बागलुङको मंगलबार बसेको बैठकले बागलुङ नगरपालिकाका १२, १३ र १४ नम्बर वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
बागलुङ नगरपालिकाकामा मंगलबार राति १२ बजेबाट सुरु भएको निषेधाज्ञा आगामी १७ गते रातिसम्म रहने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
त्यस्तै कोभिड संकट व्यवस्थापन समितिले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’ हुने भएको छ । मंगलबार नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या ७३५ पुगेको थियो।
यी क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ। बैंक तथा वित्तिय संस्था, सहकारी सेवा र वडा कार्यालयको सेवा समेत स्थगित गरिएको छ। यी वडा भएर चल्ने लामो दूरीका सवारी साधानले पनि यात्रु झार्न र चढाउन समेत नपाउने भएका छन्।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा अवज्ञा अत्यावश्यक काममा बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको र त्यसरी सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने चेतावनी दिईएको छ ।