एजेन्सी । मंकीपक्सका ७ हजारभन्दा बढी बिरामी भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ। अमेरिकामा यो रोगका बिरामीको संख्या ७ हजार १ सय पुगेको छ। यसअघि विभिन्न राज्य र सहरहरुले मंकीपक्स संकटकाल घोषणा गरे पनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन।
स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलको समयमा यो घोषणा गरिएको हो । प्रकोपलाई सम्हाल्ने सन्दर्भमा बाइडेन प्रशासनको आलोचना भइरहेको र सरकारलाई ढिलाइ नगरी राष्ट्रिय संकटकाल घोषणा गर्न आह्वान गरेपछि बाइडेन प्रशासनले संकटकाल घोषणा गरेको हो।
अमेरिकामा मेको मध्यमा मंकीपक्सको पहिलो संक्रमण पत्ता लागेको थियो। मोन्टाना र वायोमिङ बाहेक सबै राज्यमा संक्रमण पहिचान गरिएको छ।
विश्व स्वास्थ्य संगठनले गत महिना मङकीपक्स अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य संकटकाल भएको घोषणा गरेको थियो। डब्ल्यूएचओले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकटकाल एक असाधारण घटनाको रूपमा परिभाषित गर्दछ।
न्युयोर्क, सान फ्रान्सिस्को, क्यालिफोर्निया, इलिनोइस र न्युयोर्कलगायतका केही सहर र राज्यहरूले पहिले नै मङकीपक्स संकटकाल घोषणा गरिसकेका छन् । जसले गर्दा उनीहरुलाई प्रकोपको लागि साधनश्रोत परिचालन गर्न बाटो खुलेको छ।
मङकीपक्स अहिलेसम्म विश्वका ७० भन्दा धेरै देशमा फैलिइसकेको छ। अब अमेरिकामा संकटकाल घोषणापछि संघीय स्वास्थ्य अधिकारीहरुले यो रोगविरुद्ध मापदण्डहरुलाई तीब्र पार्न सक्नेछन्।