काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि नेपालका सातैवटै प्रदेशमा दिने भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आज एक पत्रकार सम्मेलन गर्दै उक्त भदौं २७ गतेदेखी देशैभरि दिने जानकारी दिएको हो।
सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याएको हो । दुई मात्रा दिइने उक्त खोप साढे ९ हजार किशोरीलाई दिइने परिवार कल्याण महाशाखाका निर्देशक विवेक लाल कर्णले बताए । नेपालमा ३ जनालाई क्यान्सर हुँदा २ जनामा पाठेघरको मुखको क्यान्सर हुने गर्छ। फोक्सोको क्यान्सरले दोस्रो स्थान ओगटेको छ । नेपालमा क्यान्सरबाट हुने मृत्युलाई ३ प्रतिशतमा झार्ने अभियानसहित उक्त खोप कार्यक्रममा सञ्चालन गर्न लागिएको हो।
कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट उक्त खोप प्रदान गरिने डा.कर्णले बताए ।
सन् २०२२ को सरकारी तथ्याङ्क अनुसार नेपालमा दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो । ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूमपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्छ ।