भक्तपुर- बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ । जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाइ छ ।
यसअघि स्थानीय प्रशासनले विस्केट जात्रा रोक्ने निर्णय गरेको थियो । तर सो निर्णय विरुद्ध सर्बोच्चमा रिट परेपछि सर्बोच्चले जात्रा नरोक्न अन्तरिम आदेश दिएको थियो ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेको र काठमाडौँ उपत्यकामा पनि संक्रमितको संख्या बढदै गएपछि स्थानीय प्रशासनले जात्रा रोक्ने भनेको थियो ।
सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७र७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।
विस्केट जात्रा भक्तपुरमा आठ रात नौ दिन सम्म मनाईने गरिन्छ । जात्रा आजबाट शुरु भई ५ बैशाखमा समापन हुनेछ ।