काठमाडौं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोना संक्रमितको उपचारका लागि तयार रहन निजी अस्पतालहरुलाई निर्देशन दिएका छन् ।समाजवादी प्रेस सङ्गठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप लगाउन सोचे अनुसार नागरिक नआएको बताएका छन् । खोप लगाउन स्वतस्फूर्त रूपमा जनता नआएपछि सातवटै प्रदेशमा खोप अभियान सञ्चालन गर्नु परेको खतिवडाले बताए ।प्रदेश १ बाट अभियान सुरु भएको उनले बताए । सेड्युल बनाएर खोपका लागि अभियान सञ्चालन गरिने उनको भनाइ छ । खोपका लागि गाउँ टोलमा टोली खटिने जानकारी खतिवडाले दिएका छन् ।
उनका अनुसार ८० प्रतिशतलाई पहिलो डोज लगाइएको छ । करिब ६० प्रतिशत नागरिकले खोप पाइएको उनले बताए । पहिलो र दोस्रो डोज लगाएपछि नागरिकलाई बुस्टर डोज दिइने खतिवडाको भनाइ छ । २ डोज खोप लगाइसकेकालाई कोरोनाले असर कम गर्ने भएकाले खोप लगाउन उनले सबैमा आग्रह गरेका छन् । कोरोना रोकथामका लागि सरकारले पर्याप्त पूर्व तयार गरेको मन्त्री खतिवडाको भनाइ छ ।
उनले सरकारी अस्पतालमा सङ्क्रमितको उपचारका लागि व्यवस्था गरिएकाले निजी अस्पताललाई पनि तयार रहन आग्रह गरिएको जानकारी दिए । एमबिबिएस पढ्ने विद्यार्थीसँग तोकिएको भन्दा बढी अतिरिक्त शुल्क लिनेलाई कारबाही गरिने उनले प्रष्ट पारेका छन् ।