काठमाडौं । अनियमिततामा डुबेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्कालका लागि टरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन मोरङले आज (सोमबार) बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले अहिले प्रतिष्ठानमा कुनै समस्या नरहेको दाबी गरे । उनले त्यहाँको समस्या तत्कालका लागि टरेको बताउँदै बिपीको काम कारबाही गर्नका लागि पाँच सदस्यीय टोली गठन गरेर धरान पठाइएको जानकारी दिए ।
शनिबार बसेको क्याबिनेट बैठकले निर्णय गरेर श्यामसुन्दर यादवको नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको जानकारी उनले दिए । खतिवडाका अनुसार वर्तमान पदाधिकारीलाई काम गर्न भने रोक लगाइएको छ । मन्त्रालयको टोलीले काम थालेपछि छानबिन नसकिएसम्म वर्तमान पदाधिकारीले काम गर्न नपाउने मन्त्री खतिवडाको भनाइ छ ।