काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबार(आज)देखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने जनाएको छ । महानगरपालिकाले सूचना जारी गर्दै ८ वटा अस्पतालबाट बुस्टर डोज खोप दिने जानकारी दिएको हो ।
माघ ६ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।
यस्तै सार्वजनिक क्षेत्र सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, बैंकिङ सेवा)का कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।
दुवै डोज खोप लगाएको ६ महिना कटेपछि मात्र खोप कार्ड र कार्यालयको परिचयपत्रको आधारमा खोप लगाइने महानगरपालिकाले जनाएको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।