काठमाडौं । नोबेल मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयबीच ७ बुँदे सम्झौता भएको छ। नोबेल मेडिकल कलेज विराटनगरमा आन्दोलित विद्यार्थीको विषयमा आयोग, काठमाडौं विश्वविद्यालय र कलेजबीच भएको छलफलपछि ७ बुँदे समझौता भएको हो ।
शैक्षिक सत्र २०७७र७८ का लागि काठमाडौं विश्वविद्यालयमार्फत एमबीबीएस कार्यक्रममा भर्ना भएका र शिक्षण शुल्कको विषयमा आयोग, विश्वविद्यालय र कलेज प्रशासनबीच सात बुँदे सम्झौता भएको आयोगले जनाएको छ। सम्झौता भएसँगै नोबेलले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क नलिने बताएको छ।
आयोगले निर्धारण गरेको र निर्देशन दिएको बाहेक अन्य कुनै पनि शुल्क कलेज प्रशासनले नलिने र विद्यार्थीसँग कुनै पनि शर्त सम्झौता नगराउन नोबेल सहमत भएको छ।
यस्तै कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई विभिन्न विषयमा माग राखी आन्दोलन गरेको भन्दै कलेज प्रशासनबाट कारबाही गर्न नपाइने, भर्ना भइ कक्षामा सहभागी नभएका आन्दोलनरत विद्यार्थीहरुलाई पाठ्यक्रमले निर्दिष्ट गरेका मापदण्ड पुरा गराउन कलेज प्रशासनले अतिरिक्त समय मिलाई पठनपाठन पुरा गराउने र नियमित विद्यार्थी सरह नै परीक्षामा सहभागी हुने व्यवस्था मिलाउने, विद्यार्थीको शैक्षिक सुरक्षाको व्यवस्था कलेज प्रशासनले आफ्नो तर्फबाट पूर्ण रुपमा सुनिश्चित गर्ने र कलजेको वातावरणलाई विद्यार्थीमैत्री बनाउने निर्णय भएको छ।