काठमाडौं । सार्वजनिक स्वास्थ्य संस्थालाई सङ्क्रमणमुक्त तुल्याउने उद्देश्यले गणतन्त्र कोरियाले अस्पतालजन्य फोहोर व्यवस्थापनका निम्ति तीन वटा अस्पताललाई ४१ लाख रुपैयाँभन्दा बढीका उपकरण प्रदान गरेको छ ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, नुवाकोट जिल्ला अस्पताल र टीकापुर अस्पताललाई आज ती उपकरण हस्तान्तरण गरेको हो । कोइका नेपाल कार्यालयले गत वर्षदेखि वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।
यसैक्रममा उसले कागेश्वरी मनोहरा नगरपालिकाका पाँच र ललितपुर महानगरपालिकाका दुईवटा विद्यालयलाई वातावरणीय समस्या समाधान गर्न सहयोग गरेको थियो । कोरियाली सहयोगमा भक्तपुर क्यान्सर अस्पतालमा पनि फोहोर व्यवस्थापन परियोजना सञ्चालन भइरहेको कोइकाले जनाएको छ ।